सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल बुधबार विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले (पर्सी) २५ माघमा विश्वासको मत लिने तयारी गरेका हुन ।
मुख्यमन्त्री रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिएका हुन ।
‘मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट पर्सी विश्वासको मत लिने भन्ने कुरा जानकारीमा आएको छ । हामी त्यहीअनुसार व्यवस्थापनमा लागेका छौँ,’ सभामुख भण्डारीले भने, ‘सोमबार उहाँहरुले आधिकारीक पत्र पठाउने कुरा जानकारीमा आएको छ ।’
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदै आएको थियो । सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नाउपा सकारात्मक बनेको स्रोतले बताएको छ ।
नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने जनाएको छ । नाउपाले सर्वोच्चको फैसलापछि १३ वर्ष अघिको आगजनी मुद्दामा कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ गरेको विरोधमा घोषणा गरेका आन्दोलनका कार्यक्रम समेत स्थगीत गरेको छ ।





प्रतिकृया दिनुहोस्