जिल्ला अदालतको फैसलाविरुद्ध सांसद अरुण चौधरी बदरको मागसहित उच्च अदालत जाने तयारीमा

धनगढी । प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी जिल्ला अदालत कैलालीको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन दिइने भएको छ । सांसद चौधरीका एक कानुन व्यवसायका अनुसार चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले गरेको फैसला बदरको मागसहित उच्च अदालत दिपायलमा पुनरावेदन दिइने भएको हो ।
हिजो मात्रै कैलाली कारागार चलान गरिएका सांसद चौधरी विरुद्ध जिल्ला अदालतले गरेको मुद्दा नै त्रुटिपूर्ण रहेको दाबीसहित उच्च अदालत दिपायलमा मुद्दा पुनरावेदनको तयारी गरिएको उनले बताएका हुन।
सांसद चौधरीका कानुन व्यवसायका अनुसार जिल्ला अदालतले फैसला गर्नुभन्दा पहिले अदालतले म्याद पठाउँछ । तर म्याद पठाउँदाखेरि अरुण चौधरीका बुवा करिंगा चौधरीले बुझेको देखाइएको छ । त्यसमा करिंगा चौधरीले गर्ने हस्ताक्षर भन्दा नितान्त फरक रहेकाले म्याद नै किर्ते रहेको ती कानुन व्यवसायीको जिकिर छ ।
कानुन व्यवसायीले भने, ‘निष्पक्ष सुनुवाइको मौका सबैले पाउनुपर्ने हुन्छ । प्राकृतिक न्याय सिद्धान्तको आधारमा फैसला हुनुपर्छ । तर अरुण चौधरीले विधिसम्मत सुनुवाइको मौका पाएको देखिँदैन । यसमा म्याद नै किर्ते भएको देखिएकोले म्याद नै बदर गरिनुपर्छ ।’
त्यस्तै, सांसद चौधरीका दाजु परशुराम चौधरीले आफ्नो बयानको क्रममा भाइ अरुण चौधरीले आफ्नो घरमा नबसी दोदोधरा गाविसमा बस्दै आएको देखाएको छ, तर फैसलामा बलिया गाविसको वडा नं. ३ उल्लेख गरिएकोले म्याद तामेल कानुन सम्मत नभएकोले बदर हुनुपर्ने माग गर्दै मुद्दा पुनरावेदन गरिने कानुन व्यवसायीले बताएका छन् ।
फैसला नै त्रुटिपूर्ण रहेकोले उत्प्रेषण–परमादेशको आदेश जारी गरी पाउन उच्च अदालतमा रिट निवेदन आइतबार नै दर्ता गर्ने तयारी गरिएको छ । उच्च अदालतले परमादेश जारी गरेको अवस्थामा सो मुद्दाको बहस नयाँ शिराबाट हुनेछ ।
नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित चौधरीलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो ।
२०६६ भदौ ३ गते कैलालीको लम्की चुहा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईंको लु. २ त. २११ नम्बरको ट्याक्टरमा आगजनी भएको थियो । सोही आगजनी घटनामा ट्याक्टर मालिक बजगाईंले १ वर्षपछि २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित ३ जनाविरुद्ध मुद्दा दर्ता गरेका थिए ।
जिल्ला अदालत कैलालीले सोही मुद्दाको सुनुवाइ गर्दै २०७० वैशाख ९ गते चौधरीसहित परशुराम चौधरी र वीर बहादुर चौधरीलाई जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । प्रहरीले उनलाई बिहीबार बाँकेबाट पक्राउ गरेर कैलाली ल्याएको थियो ।





प्रतिकृया दिनुहोस्