April 18, 2026, Saturday
२०८३ बैशाख ५

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई कारागार चलान

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो ।

बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। कारागारमै रहेर चौधरीले मुलुकी संहिताको दफा १५५ अनुसार कैद भुक्तानबापतको रकम तिर्न सकिने उपभोगका लागि जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

दफा १५५ को उपदफा (४) बमोजिम अदालतमा उपस्थित कसुरदारको हकमा कैद पुर्जी जारी भइ आएपछि र फरारको हकमासमेत कसुदार प्रहरी कार्यालयबाट पक्राउ भइ अदालतमा पेश गरी निजको नाममा कैद पुर्जी जारी भइ आएपछि कारागार कार्यालयले त्यस्तो कसुरदारलाई कानुन बमोजिम कैदमा राख्नुपर्ने छ ।

तर, कसुरदारलाई एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरणसमेतलाई विचार गरेर कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा हुने नदेखिएमा त्यसको कारण खुलाइ अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यसबापत रकम लिई कैद बस्नु नपर्ने आदेश दिन सक्ने कानूनी व्यवस्था छ । सोहि  कानुनी व्यवस्थामा टेकेर  सांसद चौधरीले जिल्ला अदालतमा निवेदन दिन सक्नेछन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए।

ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले सांसद चौधरीलाई दोषी ठहर गरेको थियो। कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र बिरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो।

उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो। दोषी ठहर गरिएकामध्येका  वीरबहादुर चौधरीले गत शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रूपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको इजलासले उक्त निवेदन अस्वीकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो। वीरबहादुर चौधरी पक्राउ परेपछि सांसद चौधरीले कैद सजाय भुक्तान नगरेर फरार रहेको खुल्न आएको थियो।  

बिहिबार दिउँसो सांसद चौधरीलाई बाँकेको बैजनाथपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई हवाईजहाजमार्फत नेपालगञ्जबाट काठमाडौं र त्यहाँबाट धनगढी ल्याइएको थियो।