सांसद चौधरीलाई धनगढी ल्याइयो : प्रहरी हिरासतमा राखिने, उन्मुक्तिले दियो २४ घन्टे अल्टिमेटम

धनगढी । प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिएका हुन ।
प्रवक्ता जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १० वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले कोहलपुरबाट पक्राउ गरेको थियो। बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो।
प्रतिनिधि सभा सदस्य चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात बन्द गर्ने चेतावनी दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले फौजदारी अभियोगमा दोषी ठहर भएका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोध गर्दै २४ घन्टाभित्र छोड्न अल्टिमेटम दिएको छ ।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बिहीबार विज्ञप्ति जारी गर्दै २०६६ साल यता चौधरीले चारपटक चुनाव लडिसक्दा राज्यका निकायहरुले के हेरेका थिए भन्ने प्रश्न गरेका छन् ।






प्रतिकृया दिनुहोस्