April 18, 2026, Saturday
२०८३ बैशाख ५

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार दिउँसो बाँकेबाट पक्राउ गरेको हो ।

कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । काठमाडौं ल्याएपछि उनलाई फैसला कार्यान्वयनका लागि कैलालीमा पठाउने सम्बन्धमा निर्णय लिइने प्रहरी स्रोतले बतायो ।

कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गएको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो । कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

उक्त फैसला कार्यान्वयन भएको थिएन । उनी सांसद बने पछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।