April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा भन्सार छलीगरी अवैध रुपमा ल्याएको चिनीसहित विभिन्न सामान बरामद

धनगढी । भन्सार छलीगरीकैलालीमा भारतबाट अवैध रुपमा ल्याइरहेको चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट चिनीसहितका विभिन्न सामान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले धनगढी उपमहानगरपालिका–२ को त्रिनगर भन्सारबाट भन्सार छलीगरी दुई क्वीन्टल चिनी, १२ वटा ब्याट्री, प्लाष्टिकको झिल्ली लगायतका अवैध सामान बरामद गरिएको जानकारी दिएका हुन ।

प्रहरी निरीक्षक साउदका अनुसार धनगढी उपमहानगरपालिका–१ को त्रिवेणी घाटबाट स्थानीय बिशाल थापाले चलाएको से.१ प. ४१४३ नम्बरको स्कुटीमा भारतबाट ल्याउदै गरेको अवस्थामा खुर्सानी लगायतका सामान पनि बरामद गरिएको छ । टीकापुर नगरपालिका–८ को झुंगास्थित भित्री सडक खण्डमा ३५ प्याकेट सुर्ती, बिडी, चकलेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

भजनी नगरपालिका ७ को हिम्मतपुरस्थित हुलाकी सडक खण्डमा सोही ठाउँका कल्लु चौधरीले भारतबाट अवैध रुपमा ल्याउदै गरेका दुई राँगा र कैलारी गाउपालिका ५ पुरानो मलिका टोलमा सोमै चौधरी र भजनी नगरपालिका ३ बस्ने जाहिर अलीले भजनीबाट हसुलिया तर्फ ल्यादै गरेका दुई राँगा पनि नियन्त्रणमा लिइएको छ ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।