कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले भने- माओवादीले धोका दियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले नेकपा माओवादीले धोका दिएको गुनासो गरेका छन्। नेपाल प्रेस युनियन कैलाली शाखाले शुक्रबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा कांग्रेसबाट नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले यस्तो गुनासो गरेका हुन्।
निर्वाचनको परिणाम आएपछि पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनको सरकार हुनेमा आफूहरु ढुक्क भए पनि अन्ततः माओवादीले धोका दिएको गुनासो बाजुराबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य पदमबहादुर शाहीले गरेका छन्।
प्रदेशसभा सदस्य शाहीले केन्द्रको गठबन्धन बिग्रिएपछि आफूहरु पनि निरास भएको बताउँदै उनले भने, ‘हामी त केन्द्रदेखि प्रदेशसम्म सरकार हुनेमा ढुक्क थियौँ। तर, गठबन्धन एकाएक बिग्रिएपछि आम कार्यकर्ताका साथै हामीमा पनि निरासा छाएको छ।’ अघिल्लो कार्यकालमा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षकै भूमिकामा रहेको कांग्रेस, अहिले पनि प्रतिपक्षमै रहने भएपछि निरासा भएको बताए ।
कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी कांग्रेस नेता प्रकाशबहादुर बमले आफूहरु सरकारमा नभए पनि बलियो प्रतिपक्षी बनेर सुदूरपश्चिमको विकास निर्माणमा संसदमा खबरदारी गर्ने बताए। हामीले निर्वाचनमा कांग्रेससँगै पाँच दलीय गठबन्धनका पार्टीलाई आफ्ना कार्यकर्तासँग पनि भोट हाल्न अनुरोध ग¥यौं, तर अहिले आएर माओवादीले नै हाम्रो विश्वास तोड्यो उनले भने।
माओवादीलाई जिताएर सँगसँगै जाने भनेर कांग्रेसी कार्यकर्ताले मत दिए पनि अन्तिममा आएर माओवादीले नै मतको अवमूल्यन गरेको कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य तुलसी देवकोटाले बताइन्। उनले भनिन्, ‘हामी सुदूरपश्चिम प्रदेश सरकारमा नगए पनि सुदूरपश्चिमबाट हामीलाई मत दिएर जिताउने आम मतदाता तथा कार्यकर्तालाई निरास बनाउने छैनौ।’
त्यसैगरी प्रदेशसभा सदस्य जुना दानीले वाजुरा जस्तो जिल्लामा गठबन्धनका नाममा बहुत दुख गरौ तर एक्कासी प्रचण्ड, ओली कहाँ पुगे पछि अचम्मित भएको बताईन । तर पनि सुदूरको विकास निर्माणका साथै प्रदेश सरकारको खबरदारीमा आफूहरु कडा रुपमै प्रस्तुत हुने उनले बताइन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्यको शपथ ग्रहणपश्चात् नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने १९ जना प्रदेशसभा सदस्यलाई नेपाल प्रेस युनियन कैलाली शाखाले धनगढीमा एक कार्यक्रमको आयोजनागरी बधाई तथा सम्मान गरेको थियो ।





प्रतिकृया दिनुहोस्