सुदूरपश्चिम प्रदेश सभाका सदस्यले लिए शपथ, प्रथम अधिवेशन पुस १८ गते आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले ५२ जना प्रदेश सभा सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ अघि सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका थिए । सुदूरपश्चिम प्रदेश सभामा ५२ सभा सदस्य मध्ये ६ जनाले मातृभाषामा शपथ लिएका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।
प्रदेश सभाको प्रथम अधिवेशन पुस १८ गते आह्वान
सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते आह्वान गरिएको छ ।सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुस १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ । प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन् ।





प्रतिकृया दिनुहोस्