सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ ग्रहण भोली हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण भोली हुने भएको छ। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले भोलि पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको हो।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनीयताको शपथका सबै तयारी पूरा भइसकेको र दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको बताए।
ज्येष्ठ सदस्य रावलले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने जोशीले बताए । शपथका लागि सभा हल व्यवस्थापनदेखि तथा अन्य व्यवस्थापकीय काम पनि भइसकेको छ । प्रदेशसभा सदस्यहरूका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणका लागि प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सिट व्यवस्थापन, सचिवालय व्यवस्थापनलगायत सबै तयारी पूरा भइसकेको जनाएको छ। करिब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पिकर, मिक्सर लगायतका सामान फेरिएका छन्।
माइक र फर्निचरका सामान फेर्ने काम, रोस्टमको सेट अप र लोगो राख्ने लगायतका काम भैसकेका छन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरूका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनि सकिएको छ।
सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो । सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली काङ्ग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जोशीले बताएका छन् । ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।
शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।





प्रतिकृया दिनुहोस्