April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी कायमै

धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको छ । एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगको भेटमा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले माओवादी नेतृत्वमा प्रदेश सरकारको दाबी गरेका हुन ।

नेपाली काङ्ग्रेससँग गठबन्धनमा चुनाव लडेको माओवादी केन्द्रले यसअघिको गठबन्धनमा पनि सुदूरपश्चिम सरकारको नेतृत्व पाउनु पर्ने माग गर्दै आएको थियो ।

नेपाली काङ्ग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेको सहकार्यमा सङ्घीय सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनु पर्ने दाबी गरेको माओवादी केन्द्रका एक नेताले वताए।

आज नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँगको भेटमा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठनमा सहयोग गर्न आग्रह गरेका हुन ।

यद्यपि एमाले नेता भट्टले माओवादी केन्द्रका इन्चार्जलाई कुनै आश्वासन र प्रतिबद्धता नदिएको स्रोतले बताएको छ ।

सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११ र नेकपा एमालेका १० सांसद छन् ।

सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । नागरिक उन्मुक्ति पार्टी भने सुदूरपश्चिम प्रदेश सरकारमा निर्णायक हुने देखिएको छ । नागरिक उन्मुक्तिसँग ७ जना सांसद छन् ।

 यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४, राप्रपाको १ र १ स्वतन्त्र सांसद रहेका छन्।