April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व, प्रतिनिधि सभामा दलितको सहभागिता शून्य

धनगढी। सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व हुने भएको छ । प्रदेश सभाका लागि जम्मा ५३ सदस्य रहेको प्रदेश सभामा खस आर्यबाट ४३ जना सदस्य चयन भएका हुन । जुन कुल सङ्ख्याको ८१.१३ प्रतिशत हो ।

यसैगरी, थारु समुदायबाट पाँच प्रत्यक्ष र दुई समानुपातिकगरी ७ जनाको प्रतिनिधित्व भएको छ । प्रदेश सभामा यो समुदायको सहभागिता १३.२० प्रतिशत सुनिश्चित भएको छ । त्यस्तै, दलितको सहभागिता ५.६६ प्रतिशत रहेको छ ।

प्रदेश सभामा ३ जना दलितको प्रतिनिधित्व छ । प्रतिनिधि सभा र प्रत्यक्षबाट प्रदेश सभामा शून्य रहेको दलितको सहभागिता समानुपातिक तर्फबाट सुनिश्चित गरिएको हो । समानुपातिकबाट नेपाली कांग्रेसले कैलालीकी ५५ वर्षीया ललिता सुनारलाई प्रदेश सभा सदस्य बनाएको छ । सुनार टीकापुर नगरपालिका –१ का बासिन्दा हुन ।

त्यस्तै, नेकपा (एमाले) बाट कञ्चनपुरका ६३ वर्षीय हिरा सार्की प्रदेश सभा सदस्य भएकी छन् । भीमदत्त नगरपालिका –४ का बासिन्दा रहेकी उनलाई एमालेले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाएको हो ।

नेकपा (माओवादी केन्द्र) बाट ३४ वर्षीया लक्ष्मी विक प्रदेश सभा सदस्य भएकी छन् । उनी मालिकार्जुन गाउँपालिका –७ दार्चुलाकी हुन ।

सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलितको सहभागिता शून्य छ । यसैगरी, यो प्रदेशबाट प्रतिनिधि सभामा पनि दलितको सहभागिता शून्य रहेको छ ।