घोडाघोडी नगरपालिकामा वडाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा तोडफोड गरेका छन् । शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा मदिरा सेवन गरी तोडफोड गरेका हुन।
मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका हुन।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीका अनुसार मेयर रावतसहित केही वडाका वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।
प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले क्वार्टर नजिकै रहेको होटल माछा घरमा जम्मा भएका मेयरसहितका केही वडाका अध्यक्षहरुसँग आचार्यले आफ्नो क्वार्टरमा लगेर पुनः खानपिन गरेको बताए।
वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए।





प्रतिकृया दिनुहोस्