April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिममा पहिलोपल्ट भेटियो अफ्रिकन स्वाइन फिभर रोग

धनगढीः सुदूरपश्चिम प्रदेशमा पहिलोपल्ट अफ्रिकन स्वाइन फिभर रोग भेटिएको छ । कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको एक बंगुरको शव परीक्षण गर्दा यो रोग पुष्टि भएको हो ।
धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए । मरेको बंगुरको शव परीक्षण र ¥यापिड टेस्ट किटबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
त्यसपछि थप सुनिश्चितताका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमूना पठाइएकोमा त्यहाँ पनि रोग पुष्टि भएको जोशीले बताए ।
यसरी सुदूरपश्चिममै पहिलो पटक कैलालीमा यो रोगको संक्रमण देखिएको छ । हालसम्म नेपालका करीब १० जिल्लामा देखा परेको यो रोग लागेमा बंगुरलाई १०४ देखि १०७ डिग्री सम्म ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, वान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने भएकाले सचेत रहन पनि अनुरोध गरिएको छ ।
विगतमा अफ्रिकी महादेशमा देखिएको यो रोग २०१८ मा चीन, भुटान र भारत हुँदै गत चैतमा मात्र नेपालमा देखिएको थियो ।