April 18, 2026, Saturday
२०८३ बैशाख ५

दसैँ, दीपावली नजिकिएसँगै रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली स्वदेश फर्कने क्रम ह्वात्तै बढ्यो

धनगढी : बडादसैँ तथा दीपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।

सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिवार ४ सय २, आइतबार ३ सय ५३, सोमबार ५ सय ४८, मङ्गलवार ३ तीन सय ३८ र बुधवार ८ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकाले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो ।

लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउनकै लागि घर फर्केको बताए ।

“दसैँमा परिवारका सदस्य बिच सबै जना एकसाथ भेटघाट हुने र मिठा मिठा स्थानीय खानाका परिकार पकाई खाइ रमाइलो गरी मनाउने गरिन्छ” उनले भने, “यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभास रमाइलोमै बित्छ ।” सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको सुनाए ।

यसरी छिमेकीमूलक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चार्ड वार्ड मनाउन घर आउने गरेको पाइन्छ। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका सहरहरूमा जाने गर्दछन् ।