April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा १६ लाख बडीले मतदान गर्न पाउने

धनगढी : आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधीसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए। उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम/प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए।

आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन्। कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र रहेका छन्।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुईसय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङ्गमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन्। अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन्।

२०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो।