April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीमा अनसनरत डा. केसीलाई कडा खालको अल्सर भएको आशंका

धनगढी : आमरण अनसनमा बसेका डा. गोविन्द केसी केसीलाई धनगढीबाट काठमाडौँ लैजाने तयारी भएको छ । नौ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीमा आमरण अनसनमा बसेका डा. केसीलाई काठमाडौँ लैजाने तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार डा.केसीलाई काठमाडौँ लैजान गृह मन्त्रालयले नेपाली सेनाको स्काइ ट्रक पठाउने भएको छ । डा. केसीको स्वास्थ्यमा जटिल खालको समस्या देखिएपछि स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले काठमाडौँ लैजाने तयारी गरेको हो । सोही ट्रक मार्फत उनलाई काठमाडौँ लैजाने तयारी छ ।

सेती प्रदेशिक अस्पतालले डा. केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको अस्पतालले जनाएको छ । अस्पतालले डा. केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् । तर उनले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा।केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका डा. केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।