गौरापर्व विधिवत रुपमा मनाइँदै, प्रमुख आकर्षण देउडा

धनगढी : सुदूरपश्चिमेलीको महान् पर्व गौरा बिहीबारदेखि विधिवत् रूपमा सुरु भएको छ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको हो।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि गौरा पर्व सुरु हुने गर्छ। गौराको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको थालनी गर्छन्। यस दिन यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ।
पौराणिक कालमा गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिव प्राप्त गरेको विश्वास गरिन्छ। त्यतिबेलादेखि नै यो परम्परा चल्दै आएको भनाइ छ।
महिलाका लागि यो विशेष पर्व हो। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज व्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउनेछन्। आजको दिनलाई ‘ठूली गौरा’ भनेर मनाइन्छ। व्र्रतालु महिलाहरुले बिहानै नुहाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।
‘ठूली गौरा’को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरी व्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्ने गर्दछन्। साउँ, अपामार्ग, तील लगायतका वनस्पतिले गौराको प्रतिमूर्ती बनाइन्छ। व्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।
आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्। यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्डस्नान गर्ने गर्दछन्। गौराको मुख्य दिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रहीआएको छ।
सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्त्वका साथ गौरा पर्व मनाउँछन्। गौरामा एकैछिन भए पनि देउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किन्छन्। छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका हजारौँ सुदूरपश्चिमेली यतिबेला सीमावर्ती नाकाबाट घर फर्किने गरेका छन्।
गौरा पर्वको प्रमुख आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ। त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ। महिलाले यस अवसरमा आफ्ना सुखदुःख देउडाका माध्यमबाट व्यक्त गर्छन्। गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन छ।
यहाँका केही सङ्घसंस्थाले यस अवसरमा हरेक वर्ष देउडा प्रतियोगिता आयोजना गर्ने गरेका छन्। जिल्ला सदरमुकामसँगै विभिन्न स्थानमा रहेका मठमन्दिर, मञ्च र सार्वजनिक मैदानमा सयौँको सङ्ख्यामा देउडा खेल्ने र हेर्नेको घुइँचो लाग्ने गरेको छ।





प्रतिकृया दिनुहोस्