कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून

कैलाली : कैलालीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून रहेको पाइएको छ । लाखौं रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सा पास गर्नेबारे स्थानीय सचेत बन्न सकेका छैनन् । न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ ।
२०७२ मा भूकम्प गएपछि सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण संहिता लागू गर्यो । भवन निर्माण विभागको नेतृत्वमा मुलुकमै पहिलोपटक आफ्नै मौलिक र व्यवहारिक संशोधित एवं परिमार्जित संहिता बन्यो, जुन देशैभरिका पालिकामा लागू गर्न निर्देशन दिइयो । कैलालीका विभिन्न पालिकामा भने त्यो कार्यान्वयन भएको कमै पाइन्छ ।
भूकम्पजस्ता विपत्ति तथा बलियो घर बनाउन र बस्ती व्यवस्थित बनाउन भवन निर्माण संहिताले सहयोग गर्छ । कैलालीको भजनी नगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा चार तथा आव २०७७/७८ मा नौ घरको नक्सा पास गरिएको छ । यस्तै २०७८/७९ मा दुई र आव २०७७/७८ मा १४ घरको अभिलेखीकरण गरिएको भजनी नगरपालिका इन्जिनियर अनिष श्रेष्ठ बताउँछन् ।
‘मापदण्ड पालना गरेर घर बनाउनुपर्छ भन्ने चेतना निकै कममा पाइयो । मापदण्डबिना निर्माण गरिएका घर पास गर्न सक्दैनौं,’ उनले भने, ‘यसले घरको मूल्यांकन गर्न र बैंकिङ कारोबार गर्न समस्या हुन्छ ।’
जोशीपुर गाउँपालिकामा पनि घरको नक्सापास गर्ने निकै कम छन् । जोशीपुरले २०७२ अघि बनेका घर अभिलेखीकरण गर्नका लागि भर्खरै एकमहिने सूचना निकालेको छ । चेतनाको कमीले नयाँ घर धमाधम बनिरहे पनि नक्सापास गर्न आउने कमै रहेका जोशीपुर गाउँपालिकाका सव–इन्जिनियर हरिशा पन्तले बताए ।
जानकी गाउँपालिकामा आव २०७८/७९ मा २५ घरको नक्सापास र १७ घरको अभिलेखीकरण भएको छ । आव २०७७/७८ मा १० घरको नक्सापास र २४ घरको अभिलेखीकरण गरिएको छ । पालिकामा हरेक वर्ष सयौं पक्की घर निर्माण हुन्छन् तर समयमै पास हुँदैनन् । यसरी बनेका घरको मूल्यांकन नहुने भएकाले भविष्यमा समस्या हुन सक्ने गाउँपालिकाका सबइन्जिनियर विपीन चौधरी बताउँछन् ।
संहिताअनुसार आवासीय प्रयोजनका लागि बनाइने घर र कार्यालय, सपिङ मल, कलकारखाना तथा उद्योगधन्दाका लागि बनाइने घरको साइज मापदण्डअनुसार फरक–फरक हुन्छ । अन्य पालिकाको तुलनामा टीकापुरमा नक्सा पास गर्नेको संख्या केही बढी छ । रासस





प्रतिकृया दिनुहोस्