सुरु भयो सुदूरपश्चिममा गौराको चहलपहल, गौरा महोत्सव मुल आयोजक समिति गठन

धनगढी : सुदूरपश्चिम प्रदेशमा पर्व गौराको चहलपहल सुरु भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गौरा पर्वलाई महोत्सवको रुपमा मनाउन मुल आयोजक समिति समेत गठनगरिएको छ ।
डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा हुने सुदूरपश्चिम गौरा महोत्सव २०७९ का लागि प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको हो ।
मुल आयोजक समितिको सदस्यहरुमा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष एवं आदर्श सेवा समाजका अध्यक्ष तीर्थराज पाण्डेय, अछाम सेवा समाजका अध्यक्ष खडक स्वाँर, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष इन्जिनियर महेन्द्रराज पन्त ,सुर्मादेवी बझाङ्गी सेवा समाजका अध्यक्ष दिलबहादुर खाती, डोटेली समाजका सुशिला भट्ट , बैतडी समाजका सतिश जोशी ,कैलाली जनपुस्तकालयका टि आर पाठक, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम बहादुर धामीलाई चयन गरिएको छ ।
त्येस्तै सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष रुपा स्वाँर, हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका काबाअध्यक्ष सुरज शाह, दलित साहित्य सोपानका चक्र नेपाली,आयोजक संस्था डेउडा प्रतिष्ठानका तर्फबाट बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा), कोषाध्यक्ष , प्रेम बिबश चन्द र सदस्य द्रोपती भट्ट (मेघा) लाई चयन गरिएको छ ।
सुदूरपश्चिममा हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ । यो वर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको व्रत बस्ने महिलाले उजेली गौरामा व्रत बस्न उपयुक्त हुने बताइन्छ ।
भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । गौराको चहलपहल सुरु भएसँगै रोजगारीका लागि देशबाहिर रहेका स्थानीय बासिन्दा घर फर्किने क्रम सुरु भएको छ ।
गौरामा शिवपार्वतीको पूजाआजा गरिनाका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरमा पनि जात्रा लैजाने चलन छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानामा यो पर्व मनाउने परम्परा चल्दै आएको हो।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नाका साथै माया प्रेम दर्शाउने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था र आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
सुदूरपश्चिमका सबै जिल्लामा गौरा पर्व मनाउने चलन रहिआएको छ । तराईका जिल्लामा पनि पहाडी समुदायले गौरा पर्व मनाउने गरेका छन् । यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।





प्रतिकृया दिनुहोस्