April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक-पटक स्थगित

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बैठक पटक–पटक स्थगित हुन थालेको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट प्रमुख प्रतिपक्षी दल असन्तुष्ट हुँदा पटक–पटक स्थगित हुन थालेको हो ।

आज ११ बजेका लागि डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बजेटबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।

विपक्षी दलहरू नेकपा (एमाले), जसपा र लोसपा पनि सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै विरोधमा उत्रेका हुन् । उनीहरू संसद् बैठकमा समेत उपस्थित नभएर विरोध जनाउँदै आएका छन् । गठबन्धनमा रहेको कांग्रेस पनि बजेटप्रति असन्तुष्ट रहेको प्रदेश संसद्हरुले जानकारी दिएका छन् ।

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन । मुख्यमन्त्री भट्टले प्रतिपक्षीहरू नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएर अहिले बैठक बसिरहेको छ ।

बैठकमा प्रतिपक्षी दलहरूले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएका छन् । बजेट पारित गर्ने विषयमा सरकार र प्रतिपक्षबीच वार्ता त्यो बैठक निष्कर्षविहीन भएपछि फेरि बस्न लागेको छ । प्रतिपक्षी दलले सरकारलाई बुझाएको १४ बुँदे सुझावपत्रमा सहमति भए मात्रै संसद् सञ्चालन हुन दिने एमालेका प्रमुख सचेतक लीलाधर भट्टले जानकारी दिए ।