April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीको गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउने- प्रधानमन्त्री देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले काठमाडौ गएलगत्तै गेटा मेडिकल कलेजलाई ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याउने बताएका छन् । उनले स्थानीय र प्रदेश सरकारले जनताहरुलाई छिटो छरितो सेवा दिनुपर्नेमा समेत जोड दिएका छन् । ‘प्रदेशमा कर्मचारी आउनै मान्दैनन्, उनीहरू आउने माहोल बनाउनुस्,’ देउवाले भने ।

प्रधानमन्त्री देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गरेका छन् । ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमाडौं गएको पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ’ देउवाले भने, डे टु डे धनगढी(काठमाडौं प्लेन चलेका छन् । छिट्टै पुगिन्छ खासै समस्या छैन ।’

अहिले पहाडका सबै मुकाममा सडक पुगेको छ । धनगढी पुग्न पनि धेरै समय लाग्दैन’, उनले भने– ‘काठमाडौ जान खोज्दा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अहिले २२ वटा पुल बनेका छन्, सडकबाटै काठमाडौ पुगिन्छ । नियमित विमान उडान भइरहेका छन् ।’

कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, उपमेयर कन्दकला रानालगायतको मन्तब्य राखेका थिए ।