April 18, 2026, Saturday
२०८३ बैशाख ५

नबनिर्वाचित जनप्रतिनिधिहरु लाई सभापति बलायरको चेतावनी : भ्रष्टाचार गरे पार्टीले कारबाही गर्छ

धनगढी : नेपाली कांग्रेस प्रदेश कार्यसमितिले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई तथा स्वागत गरेको छ । शुक्रबार प्रदेश पार्टी कार्यालय धनगढीमा नबनिर्वाचित नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई बधाई तथा स्वागत गरेको हो ।

बधाई तथा स्वागत कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरे पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

अघिल्ला जनप्रतिनिधिहरुले गरेको कामको प्रकृति हेर्दा जताततै अनियमितताले गन्हाएको बताउँदै बलायरले भने, ‘प्रदेश समिति आइसकेपछि हामीले दिएको टिकटबाट तपाईँहरु निर्वाचित हुनु भएको छ, तपाईहरुले राम्रो गरे पार्टीको नाम उच्च रहन्छ, गलत गरे बद्नामित हुन्छौं, तसर्थ गलत काम नगर्नु होला।,’ उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिले गतल काम गरेको र आर्थिक अनियमितता गरेको भेटिएमा पार्टीले कारबाही गर्ने बताए।

जनप्रतिनिधिहरुले व्यक्तिगत स्वार्थका लागि प्रमुख र उपप्रमुखबीच बाझाबाझ भएमा पार्टीप्रति मात्रै नभई देशप्रति अन्याय हुने उनले बताए। उनले भने, ‘अघिल्ला जनप्रतिनिधिहरुको व्यक्तिगत स्वार्थकै कारण बाझाबाझ हुँदा गतिलोगरी काम हुन सकेन, अब नयाँ जनप्रतिनिधिले त्यस्तो गरेको भेटिएमा प्रदेश कार्य समितिले बाँकी राख्दैन।’

कांग्रेसले जितेको पालिका आर्थिक रुपमा चुके भन्ने आफ्नो कानले सुन्नु नपरोस् भन्दै उनले भने,‘पालिकाका प्रमुख उपप्रमुखहरु आपसमा लडे मरे भनेर पनि सुन्न नपरोस्।’ प्रमुखसँग कार्यकारी अधिकार रहेको बताउँदै उनले भने, ‘उपप्रमुखले प्रमुखलाई सहयोग गर्ने हो, भने प्रमुख भन्दा बढी समाजसँगको उत्तरदायित्वसहितको अधिकार उपप्रमुखसँग छ।’

उपप्रमुख भनेको न्यायिक समितिको अधिकारसहित भएको पनि उनले बताए। कार्यक्रममा प्रदेशभरिका सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट जितेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष सहभागी थिए।