April 18, 2026, Saturday
२०८३ बैशाख ५

मोहन्याल गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट, कामकाजमा रोक लगाउन माग

कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै बेला मोहन्याल गाउँपालिकामा निर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायलाई कामकाजमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

अध्यक्ष उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी हुन रोक लगाउनुका साथै गाउँपालिकाको अध्यक्षको हैसियतमा कुनै पनि काम नगर्न नगराउन माग गर्दै अधिवक्ता बसन्त जैशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

२०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्ष हुँदा उपाध्यायविरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्याय निर्वाचित भएपछि अख्तियारले भ्रष्ट्राचार मुद्दा रहेको भन्दै निलम्बन गर्न निर्वाचन आयोग, सामान्य प्रशासन मन्त्रालय र मोहन्याल गाउँपालिकालाई पत्राचार गरेको थियो ।

कानूनी अन्योलताले केही दिन उपाध्यायको सपथ रोकिएको थियो तर उनलाई सपथ ग्रहण नगराउँदा उपाध्यक्षसहित अन्य निर्वाचित जनप्रतिनिधिको सपथ रोकिने कुरालाई ध्यानमा राखेर निर्वाचन आयोगले वैकल्पिक बाटोबाट सपथ ग्रहण गराएको थियो । जनप्रतिनिधिलाई भ्रष्टाचार मुद्दा लागेमा स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।