April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीको गेटा मेडिकल कलेजमा यसै वर्षदेखि तीन सय शैय्याको अस्पताल सुरु हुने

धनगढी : कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा ३ सय शैय्याको अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ। सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३ सय शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दचकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए ।

गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भइसकेको छ। यसै आर्थिक वर्षदेखि अस्पताल सञ्चालन गर्न प्रधानमन्त्री देउवाले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको देउवाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो ।

नेपाली काँग्रेसका नेत्री एवं काँग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा.प्रमोद जोशी सदस्य सचिव र शिक्षा, अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले तीन सय शैय्याको अस्पताल तत्काल सञ्चालन गर्न सकिने बताएको थियो। मेडिकल कलेज संचालनका लागि कम्तिमा ३ सय शय्याको अस्पताल ३ वर्षसम्म संचालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल संचालन गर्ने तयारी छ।

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण गरिएको हो। सरकारले गेटा अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयका एघारौं तहको चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ।

आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय भएको छ। स्थानीय चुनावले कार्यकारी निर्देशक नियुक्त लगायतका प्रक्रिया रोकिए पनि अब केही सातामै कर्मचारी नियुक्ती गरेर अस्पताल संचालन हुने तयारी छ।

यसैबीच कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले गेटामा छिट्टै अस्पताल सञ्चालन हुने भएकोले अनावश्यक रूपमा आन्दोलनलगायत कार्यक्रम नगर्न आग्रह गरेकी छन्। उनले एक भिडिओ सन्देश जारी गर्दै गेटामा अस्पताल सञ्चालन गरेपछि मात्रै मेडिकल कलेज सञ्चालनमा आउने पनि बताएकी छन्।