कैलालीमा सत्ता गठबन्धन बीच सहमति : ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई

धनगढी : कैलालीमा तीन दलीय तालमेल हुने भएको छ । आगामी स्थानीय तहको निर्वाचनको लागि आज भएको सत्ता गठबन्धन दलको छलफलमा कैलालीमा तीन दलीय तालमेल हुने भएको हो ।
सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति जुटेपछि कैलालीका १३ पालिका मध्ये प्रमुखमा ७ पालिका कांग्रेसले पाउने भएको छ । धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका, बर्दगोरीया, जोशीपुर र जानकी गाउँपालिका प्रमुख नेपाली कांग्रेसले पाउने भएको हो ।
त्यस्तै गौरीगङ्गा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, मोहन्याल गाउँपालिका माओवादी केन्द्रले पाउने सहमति भएको छ । त्यस्तै प्रमुखमा घोडाघोडी नगरपालिका र चुरे गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।
सत्ता गठबन्धनले यस अघिको स्थानीय तहमा एमालेले जितेका ७ पालिका भागबन्डा गरिएको हो । कांग्रेसले अघिल्लो स्थानीय तहको निर्वाचनमा ४ पालिका जितेको थियो । माओवादी २ पालिका जितेको थियो । त्यो जितेको पालिका बाहेक कांग्रेस अब थप ३ पालिका र माओवादीले थप २ पालिका पाउने भएको छ ।
कैलालीमा एकीकृत समाजवादीका कोही पनि प्रमुख थिएनन् । एकीकृत समाजवादीले भने २ पालिका पाउने भएको छ । अहिले सहमति पत्रमा हस्ताक्षर भइरहेको छ । केही बेरपछि पत्रकार सम्मेलन गरेर भागबन्डाबारे जानकारी गराउने बताइएको छ ।
कैलाली, कञ्चनपुर, अछाम र डोटीमा गठबन्धनको जिल्लास्तरीय नेतृत्वले सहमति हुन नसकेपछि भागबण्डा टुङ्ग्याउने जिम्मा प्रदेशलाई दिइएको थियो। कैलालीमा तीन दलीय तालमेल हुने सहमति भएको छ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ भने दार्चुला, बझाङ, बाजुुरा र बैतडीमा तालमेल गर्ने निर्णय गरि सकेको छ।





प्रतिकृया दिनुहोस्