April 18, 2026, Saturday
२०८३ बैशाख ५

निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट हुदै कैलालीमा त्यागे कांग्रेस कार्यकर्ताले क्रियाशिल सदस्यता

धनगढी : स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट हुदै कैलालीमा कांग्रेस कार्यकर्ताहरु राजीनामा दिन थाले छन् । कैलालीमा कांग्रेस कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वडा सभापति भक्तबहादुर थापासहित ९१ जना क्रियाशिल सदस्यहरुले सामूहिक राजीनामा दिएका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–१८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशिल सदस्यहरुले शुक्रबार नगरसभापति यज्ञराज उपाध्यायलाई सामूहिक राजीनामा दिएका हुन् ।

“विगत लामो समयदेखि बलियो संगठनका कारण नेपाली कांग्रेसको जित निश्चित भएको हुँदा वडा नम्बर १८ कमिटिका तर्फबाट उमेदवार नभएका कारण क्रियाशिल सदस्यबाट राजीनामा दिँदै स्वतन्त्र उमेदवार उठाउने निर्णय गरेका छौँ,” राजीनामा पत्रमा उल्लेख गरिएको छ ।

सामूहिक राजीनामा दिनेहरुमा नेपाली कांग्रेस कैलालीका पूर्व जिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्व क्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्कालगायत नेता कार्यकर्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ मा अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उमेदवार उठाउने भएको छ ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उक्त वडा माओवादी केन्द्रले जितेका कारण भागबण्डाका क्रममा माओवादीले नै पाउने भएपछि कांग्रेसका नेता कार्यकर्ता असन्तुुष्ट बनेका हुन् ।