ओलीलाई प्रचण्डको कटाक्ष-मलामी जाँदा हाँस्दै, नाँच्दै, बाजा बजाउँदै जाने कस्तो अद्भुत र विचित्र प्राणी ?

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारबाट बालकोट जानु एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक हार र मृत्यु भएको टिप्पणी गरेका छन् । कैलालीको मसुरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘बाँचुञ्जेली बस्न खोजेका रहेछन् । अब मलाई कल्ले हटाउन सक्छ ? भनेर,’ उनले भने,‘सेटिङ–राष्ट्रिय सेटिङ, अन्तर्राष्ट्रिय सेटिङ ! तर माओवादी जागेपछि बालुवाटार छोड्नप¥यो, बालकोट जानप¥यो ।’ बालुवाटार छाडेर बालकोट जानु भनेको ओलीको राजनीतिक हार भएको उनले बताए । ‘राजनीतिक ढंगले पराजय भयो, हार भयो, मृत्यु भयो नि ! बालकोटवालाको,’ उनले भने ।
त्यस्तो राजनीतिक मृत्युमा समेत बाजागाजासहित जानु नि विचित्र काम भएको अध्यक्ष प्रचण्डले टिप्पणी गरे । ‘तपाई हामी त मलाम जाँदाखेरी अलि रुदैँरुदैँ संवेदनशील हुँदै, अलि भावुक हुँदै, शंक बजाउँदै वा नबजाउँदै जान्छौँ,’ उनले भने,‘तर बालकोटवाला कस्ता परे भने मलामी जाँदा पनि नाँच्दै हाँस्दै जाने । बाजा बजाउँदै करोडौं खर्च गरेर जाने । कस्तो विचित्र, कस्तो अद्भूत प्राणी ?’
प्रचण्डले ओलीलाई ‘भिलेन’को संज्ञा दिएका छन् । उनले जनताले कम्युनिस्ट पार्टीलाई दुईतिहाइ मत दिएको भए पनि ओलीले त्यसलाई तुहाउने काम गरेको जिकिर गरे । प्रचण्डले भने, “जसलाई राज्यको नेतृत्व दियौँ उनै भिलेन भएर निस्किए । हामी त्यो प्रवृत्तिविरुद्ध संघर्ष गर्न बाध्य भयौँ ।” दुईतिहाइ मत दिए पनि ओलीकै कारण तीन वर्ष नपुग्दै जनताको सपनामा तुसारापात भएको प्रचण्डको भनाइ छ ।
प्रचण्डले डेढ दशकअघिको स्मरण गर्दै नेपालमा शान्ति प्रक्रियापछि ‘नयाँ युग’ को सुरूवात भएको बताए । ‘सात राजनीतिक दलका तर्फबाट गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका तर्फबाट मैले त्यसको अध्यक्षको हैसियतले मैले हस्ताक्षर गरेपछि नेपालमा नयाँ युगको सुरूवात भयो ‘गणतन्त्रको युग,’ उनले भने, ‘संघीयताका युग, समावेशी/समानुपातिकताको युग, विकेन्द्रीकरणको यौटा नयाँ प्रकृयाको युग, धर्मनिरपेक्षताको युग, सबै नेपालीलाई आत्मसम्मान र पहिचान दिने यौटा नयाँ युगको सुरूवात भयो ।’
यो युगको सुरूवात गर्न माओवादीले गरेको ‘जनयुद्ध’ सात दलले गरेको जनआन्दोलनको ठूलो भूमिका रहेको उनले बताए ।





प्रतिकृया दिनुहोस्