April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रदेश सरकार पुनर्गठन भएसँगै मन्त्रिपरिषद्मा काँग्रेस पनि सरकारमा सहभागी भएको हो ।

आजराति देखि निर्वाचन आचारसंहिता लागु हुने भएपछि हतारहतारमा काँग्रेसलाई सरकारमा सहभागी गराएको हो । नयाँ गठन भएको प्रदेश सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेस संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून मन्त्री, गोविन्द बोहरा सामाजिक विकास मन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

एकीकृत समाजवादीबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता बोलाइएको छ । उनीहरूले राजीनामा दिएपछि नयाँलाई मन्त्रिपरिषद्मा नियुक्त गरिएको हो। यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुमारी चौधरी फिर्ता भएकी छिन् भने एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन्।

अर्थ राज्यमन्त्रीबाट माया तामाङ बोहरा फिर्ता भएकी छिन् भने अमर साउद नियुक्त भएका छन्। सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि समाजवादीले फिर्ता बोलाएको छ। एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेपछि पार्टीमा असन्तुष्टि देखिएको छ । नवनियुक्त मन्त्रीहरूले आजै साँझ प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा लामो समयदेखि कांग्रेसले सरकारमा सहभागी हुने इच्छा जनाए पनि माओवादी र समाजवादीले मानेनका थिएनन्। तर स्थानीय चुनावामा केन्द्रको गठबन्धन सुदुरपश्चिमा असर पर्ने भएपछि काँग्रेसलाई सरकारमा सहभागी गराइएको हो। प्रदेशसभामा समाजवादीको १४, माओवादीको १३, कांग्रेसको १२ र एमाले १० का दश जना सांसद छन्।

यसअघि सम्म प्रतिपक्षमा रहेको काँग्रेसले स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला सत्तारुढ गठबन्धनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुदूरपश्चिम प्रदेशमा काँग्रेसले आफूलाई सरकारमा सामेल नगराएकाले स्थानीय तहको चुनावमा गठबन्धन हुन नसक्ने बताउँदै आएको थियो।