April 18, 2026, Saturday
२०८३ बैशाख ५

सामुदायिक वनका अध्यक्षलाई धम्क्याएर पैसा लगेको आरोप

विपीनगर (डोटी) : डोटीको बडिकेदार गाउँपालिका–२, चर्केनस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समितिको बैंक खातामा रहेको २५ लाख ७६ हजार रुपैयाँ काठका ठेकेदारहरू मिली अध्यक्षलाई धम्क्याएर लगेका छन्। 

यसअघि नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालय डोटीले सामुदायिक वनलाई कुन–कुन शीर्षकमा के कति रकम खर्च भएको छ सो को जानकारी पठाउन भनेर पत्राचार गरेको थियो। डिभिजन वन कार्यालयको पत्रपछि सामुदायिक वन उपभोक्ता समितिले आम भेला गराई काठका ठेकेदारहरूले धम्क्याएर पैसा लगेको आरोप लगाएका हुन्।  

स्थानीय उपभोक्ताको आम भेलाले चर्केनस्थित प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले दुई हजार २ सय १७ दशमलव १८ क्युफिट काठ टेण्डर आह्वान गर्दा पुकु ट्रेडर्सले सकारेको र उक्त काठ पुकु ट्रेडर्सले उठाउनु अघि सामुदायिक वनको बैंक खातामा २५ लाख ७६ हजार रुपैयाँ जम्मा गरेको बताइएको छ। पुकु ट्रेडर्सले बैंक खातामा रकम जम्मा गरेर काठ उठाए लगत्तै स्थानीय ठेकेदार नवराज बिष्टसँग मिलेर अर्का ठेकेदार चुडामणि अर्याल (बाबुराम) र विमल साउँदले धम्की दिई सामुदायिक वनको खातामा रहेको २५ लाख ७६ हजार रुपैयाँ जबरजस्ती चेक काट्न लगाई लगेको सामुदायिक वनका अध्यक्ष नरबहादुर सिरौलेले बताए। 

उनले भने,‘चुडामणि अर्याल र विमल साउँदले १६ लाख ९० हजार रुपैयाँ र बाँकी ८ लाख ७५ हजार रुपैयाँ विपीनगरका काठ ठेकेदार टेकबहादुर बोहरा र स्थानीय ठेकेदार नवराज बिष्टले लगानी लागेको भन्दै धम्क्याएर चेक काट्न लगाएका हुन्।’ आफूलाई जिउ ज्यानको धाक धम्की दिई ठेकेदार चुडामणिले १६ लाख ९० हजार र बडिकेदार–१, बिपीनगरका टेकबहादुर बोहराले अनाहकमा बसेलदेखि समूहको घाटगद्दीसम्म काठ ढुवानी गर्नका लागि बाटो बनाएका भन्दै आठ लाख ७५ हजार रुपैयाँ लगेको सामुदायिक वन उपभोक्ता समूहले निर्णयमा उल्लेख गरेको छ। ‘ठेकेदारहरुले समितिका पदाधिकारीलाई धम्क्याएर पैसा लगेको र आफूहरुको जिउ ज्यानको जोखिम बढेकाले चेकमा हस्ताक्षर गरिदिएका थियौँ,’ अध्यक्ष सिरौलेले भने,‘समूहको ठेक्कामा समावेश नै नभएका अन्य ठेकेदारहरुले यसरी गाउँमै आएर धम्क्याई पैसा लगेका हुन्।’  

वार्षिक कार्ययोजना अन्तर्गत कटानी गरेको काठ लिलाम गर्दा एउटा ठेकेदारलाई ठेक्का दिएपछि अर्को ठेकेदारले आफूले वनको काठ संकलन गर्दा लागेको लगानी फिर्ता देऊ भन्दै पदाधिकारीलाई धम्क्याएर सामुदायिक वनको खाताबाट पैसा झिकेको पदाधिकारीहरुले बताएका छन्। 

‘सुरुमा काठ कटानी गर्दा आफूले लगानी गरेको र काठ पनि उठाउन नपाएको भन्दै अर्का ठेकेदार चुडामणि अर्याल र विमल साउँदले सामुदायिक वनसँग पैसा मागे,’ स्रोतले भन्यो,‘त्यसपछि सामुदायिक वनको खातामा रहेको पैसा झिक्नका लागि पटक–पटक ठेकेदार चुडामणि र विमल साउँदले उपभोक्ता समितिलाई थर्काउन थाले।’ सामुदायिक वनका अध्यक्ष सिरौलेका अनुसार कार्ययोजना अनुसार काटिएको काठ लिलाम गर्दा पुकु ट्रेडर्सले लिलाम सकारेपछि बीचमा आएर आफूले वनमा लगानी गरेको र सो रकम फिर्ता दिन भन्न थालेका थिए। 

तर, काठ कटानी गर्दा चुडामणिले लगानी नलगाएको उनले बताए। ‘म अध्यक्ष हुँ, काठ कटानी गर्दा चुडामणिले लगानी हुन् भन्ने म लगायत समितिलाई थाहै छैन,’ अध्यक्ष सिरौलेले भने,‘तर, आफूले लगानी गरेको भन्दै चुडामणिले धाक धम्की दिई पैसा माग्न थाले।’ ठेकेदार चुडामणिपछि अर्को पटके ठेकेदार टेकबहादुर बोहराले सामुदायिक वनको काठ घाटगद्दीमा निकाल्नका लागि जंगलमा बनाएको बाटोबापतको ८ लाख ७५ हजार रुपैयाँ लागेको भन्दै धम्क्याएर  लगेको उनले बताए। तर, बोहराले भने आफूले त्यो क्षेत्रमा २०६५ सालमा बनाएको सडकको पैसा असुलेको बताएका छन्।  

सामुदायिक वनबाट धम्क्याएर पैसा लगेको आरोप लागेका चुडामणि अर्यालले भने आफूले प्रगतिशील सामुदायिक वनलगायत त्यस वरपरका ११ वटा सामुदायिक वनमा लगानी गरेको बताए। ‘मैले काठ कटानीका लागि प्रगतिशील सामुदायिक वनसँगै विभिन्न ११ वटा सामुदायिक वनमा काठ कटानीका लागि खटिने मजदुरको ज्यालाबापतको पैसा तिर्नका लागि लगानी गरेको हुँ,’ उनले भने,‘लगानी गरेपछि काठ नपाएपछि मैले पैसा फिर्ता लिनु स्वभाविकै हो।’ 

तर, यो विषय सामुदायिक वनका अध्यक्ष सिरौले स्वीकार्दैनन्। ‘काठ कटानी गर्ने मजदुर अहिले पनि हाम्र्रै सम्पर्कमा छन्,’ अध्यक्ष सिरौलेले भने,‘हामीले मजदुरलाई पैसा दिन सकेका छैनौ, अनि कहाँबाट ठेकेदार चुडामणिले मजदुर खटाए ?, अनि कहाँ मजदुरको पैसा तिरे ?’ काठ कटानीमा चुडामणिले लगानी लगाएको आफूहरुलाई थाहा नभएको उनको भनाइ छ। सामुदायिक वनले आम भेलाबाट समितिलाई धम्क्याउँदै पैसा लैजाने चुडामणि अर्याल (बाबुराम), नवराज बिष्ट, विमल साउँद र टेकबहादुर बोहरालाई पैसा फिर्ता गराइदिन भन्दै डिभिजन वन कार्यालय डोटीलाई पत्राचार गरेको छ। 

लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय विपीनगरका सहायक वन अधिकृत महेन्द्रसिंह धामीले प्रगतिशील सामुदायिक वनमा भएको हिनामिनाका विषयमा आफूहरूले पनि चासो लिएको बताए। उनले भने,‘यस विषयमा हामीले वास्तविकतासहितको रिपोर्ट पेश गर्न भनेका थियौँ, अस्ती मात्रै सामुदायिक वनका अध्यक्ष आएर कागजात बुझाएका छन्, कागजातमा पैसा हिनामिना भएको देखिएको छ, त्यसलाई हामीले सिलगढी पठाउने तयारी गरेका छौँ।’ नागरिक दैनिकबाट