April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढी पुगेर प्रचण्डले भने- सुदूरपश्चिम सरकारमा कांग्रेस भित्र्याउने सहमति भएको छ, अर्ली इलेक्सनको सम्भावना छैन

धनगढी : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागी हुने बताएका छन् । सोमबार धनगढी पुगेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताएका हुन ।

सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेको बताएका हुन । ‘चुनाव आएको छ, कांग्रेसले पनि सरकारमा जान चाहेको छ’, प्रचण्डले भने, ‘एकीकृत समाजवादीका केही मन्त्रीलाइ फिर्ता बोलाएर कांग्रेस भित्र्याउने सहमति भएको छ ।’

यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएको अध्यक्ष प्रचण्डले बताए । ‘सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बीचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो’ उनले भने, ‘तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ।’

तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेको छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् । हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसको समर्थन रहे पनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्‍मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।

साथै पत्रकारहरुको प्रश्नमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् । एमालेको अवरोधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।

प्रचण्डले भने, ‘एमालेले दुई पटक संसद विघटन गर्‍यो । अहिले संसद चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ । त्यो सत्य होइन ।’ ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।

त्येस्तै अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पिर’ लाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन्। ‘मैले त्यो पूरै गीत हेर्न पाएको छैन। मिडियाबाट थाहा पाएको हुँ। जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन ?’ उनले भने- जनयुद्धमा सहभागी लडाकुहरू बडो दुःखपूर्ण जीवन बिताइरहेको बताएका छन्।

प्रचण्डले भने- ‘कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो पर्‍यो भने भन्नुस् हैँ ? सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि छ ।’

प्रचण्डले जनयुद्धमा महिलाहरूले वीरता र कीर्तिमान कायम गरेको बताएका छन्। ‘यो विषय(गीतको विषय) मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन। पक्ष/विपक्ष, तर्क वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ। धेरै विरोध गर्नुपर्ने जस्तो मलाई लाग्दैन’ उनले भने।