नवजीवन सहकारी चुनाव : मतदान सकियो, आजै रातीदेखि मतगणना सुरु हुने

धनगढी : कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत मतदान सकिएको छ। नवजीवन सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा १७ हजार ८० मत खसेको हो।
निर्वाचन समितिका अनुसार २९ हजार ५७७ जना मतदाता रहेकोमामा १७ हजार ८० मत खसेको थियो । सहकारीको नयाँ नेतृत्व चयनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सकिएको हो।
आजै रातीदेखि मतगणना पनि सुरु गर्ने तयारी रहेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए। नवजीवनको नेतृत्वका लागि रतनबहादुर कठायत र देवबहादुर बमको नेतृत्वमा दुई प्यान चुनावी मैदानमा छन् ।
कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर, गणेश बम, गोपाल चौधरी र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन् ।
उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन् ।
बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, शिवकुमार जोशी फुलारा, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट उम्मेदवार छन् ।
बमको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन् । नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो । यो सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो सहकारी संस्था हो ।





प्रतिकृया दिनुहोस्