स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पार्टी एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले

धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् ।
आज धनगढी विमानस्थानमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भए पनि नभए पनि आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको बताए ।
गठबन्धन आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आगामी तीनवटै तहका निर्वाचनमा गठबन्धन गरेर जान सकिने बाटो खुला रहेको बताए । मन्त्री आलेले स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टी तयारीमा जुटिसकेको पनि बताए ।
त्येस्तै धनगढीस्थित क्षेत्रीय रंगशालामा आज सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले आफूले जनताका शीर न निहुरिने गरी काम गर्ने बताए ।
‘मलाई मेरो पार्टीका श्रद्धेय नेता माधव नेपालले यो जिम्मेवारी दिनु भएको छ । म सरकारमा मन्त्रीको रुपमा रहेको पाँच महिना पुग्दैछ । तर, जति दिन यो कुर्सीमा बस्छु ।सुदूरपश्चिम लगायतका जनताको शीर न निहुरिने गरी यो मगरको छोरोले काम गर्नेछ ।’ उनले भने ।
मन्त्री आलेले आफू सत्तामा रहुन्जेलसम्म देश र जनताका लागि काम गर्ने बताएका छन् । ‘म सधैभरि सत्तामा हुँदैन । तर, जति दिन सत्तामा हुन्छु । देश र जनताका निमित्त काम गर्नेछु ।’
राज्यबाट पछाडि पारिएको सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको फुटबलको आयोजना हुनु चानचुने कुरा नरहेको उल्लेख गर्दै उनले आयोजकको प्रशंसा गरे ।





प्रतिकृया दिनुहोस्