April 18, 2026, Saturday
२०८३ बैशाख ५

मुख्यमन्त्री खप्तड गोल्डकप : आज फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

धनगढी : पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । सर्वाधिक धनराशीको खप्तड गोल्डकप प्रतियोगितामा आज धनगढी रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा भिड्ने भएका हुन ।

मनाङ र शेर्पाबीचको खेल आज ३ बजेपछि सुरु हुनेछ । दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ । मनाङ भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो । हिमालयनले क्वाटरफाइनलमा साविक विजेता तथा  सुदूरपश्चिम-११ लाई २-१ गोल अन्तरले हराएको थियो । 

आयोजक  सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।