क्यानको साधारणसभा फागुन दोस्रो साता हुने, राष्ट्रिय क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा आगामी फागुनमा धनगढीमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आज भैरहवामा सम्पन्न बोर्ड बैठकले वार्षिक साधारणसभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको हो ।
क्यानका अनुसार साधारणसभामा उपाध्यक्ष र सचिवको निर्वाचन हुनेछ। यसअघि उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएकाले साधारणभामा बाँकी कार्यकालका लागि निर्वाचन हुने भएको हो ।
यस्तै अध्यक्ष अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरेको छ।
त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही १ लाख र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार प्रदान गर्ने निर्णय गरिएको छ।
राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचाँस हजार सहयोग गर्ने निर्णय गरिएको छ।
संघले आर्थिक समितिको संयोजकमा रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय भएको छ।
पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको छ।
पुरुष खेलाडी
ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसी
ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी
ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऎरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ
महिला खेलाडी
ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
ग्रेड सी – डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल
पोखरा, भैरहवा र धनगढी स्थित क्रिकेट मैदानमा २/२ जना, जनकपुर र सप्तरीस्थित क्रिकेट मैदानमा ९/९ जना मैदान कर्मचारी नियुक्त गर्ने निर्णय गरिएको क्यानले जनाएको छ।





प्रतिकृया दिनुहोस्