April 25, 2026, Saturday
२०८३ बैशाख १२

डडेल्धुराको जोगबुढामा आँखा उपचार केन्द्र स्थापना

डडेल्धुरा, असार २७ (ई–रैवार)

डडेल्धुराको जोगबुढामा आँखा उपचार केन्द्र स्थापना भएको छ। सेभ नेपालको सहयोगमा नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालले जोगबुढा अस्पतालमा उपचार केन्द्र स्थापना गरेको हो।

उपचार केन्द्रको परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद र गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञ राज चौधरीले शनिबार उद्घाटन गरेका हुन्।

सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवा विस्तार गर्ने क्रममा जोगबुढा अस्पतालमा पनि आँखा उपचार केन्द्र स्थापना गरेको गेटाका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए। उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरुको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया समेत गरिने उनले बताएका छन् ।

केन्द्रमा स्वास्थ्य बीमाका बीमितहरुका लागि निःशुल्क उपचार तथा वर्षमा एक हजारसम्मको चश्मा समेत निःशुल्क उपलब्ध गराइने छ। कोरोनाको संक्रमणको जोखिमको कारणले बिगत लामो समयदेखि आँखा उपचार सेवाबाट बञ्चित रोगीहरु उपचार केन्द्रबाट लाभान्वित विश्वास लिइएको नगर प्रमुख साउद बताएका छन्।