April 25, 2026, Saturday
२०८३ बैशाख १२

काग्रेस सभापति देउवाद्वारा तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग

डोटी, असार १२ (ई-रैवार)

नेपाली काग्रेस डोटीका पार्टी सभापति प्रदीप देउवाले तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग गरेका छन् । काग्रेस सभापति देउवाले आफ्नो जन्मदिनको अवसर पारेर अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

सभापति देउवाले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि ११ हजार १ सय १ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न, संघ संस्था व्यक्तिहरु, पत्रकार, सामाजिक क्षेत्रका व्यक्तिहरु र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।

हाल सम्म कोष स्थापनाका लागि साढे दुई लाख बढी रकम संकलन भएको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिए । लामो समय नेपाली पत्रकारीता क्षेत्रमा कृयाशिल रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको सभापति देउवाले बताए ।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष बमले बताए ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । स्व. पत्रकार खड्कालाई अमर राख्ने शाखाको अभियानलाई सहयोग गरेकोमा देउवालाई युनियन डोटीले जन्मदिनको शुभकामना दिएका छन् ।