सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ३ सय ४१ पुग्यो

धनगढी, असोज २६ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षण थप ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा कैलालीका ३७ सहित ५० जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६, ६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै ३, ७, १२ र १३ का १–१ जना र ठेगाना नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
यस्तै कैलालीकै गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका–२ का १ जना, गोदावरी नगरपालिकाका १ जना र लम्किचुहा नगरपालिकाका एक जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
यसैगरी कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका–१ का २–२ जना, त्यस्तै बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका १–१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। दार्चुलाका २ जनामा पनि कोरोना पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ ।
डडेल्धुरामा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बैतडी र डडेल्धुराका गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बैतडीको पाटन नगरपालिकाका ७ र डडेल्धुराको परशुराम नगरपालिका–५ का २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको परीक्षण गरिएको थियो।
जिल्ला अस्पताल बैतडी प्रयोगशालामा १० जना, जिल्ला अस्पताल बझाङ प्रयोगशालामा २ जना, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा २ जना र डोटी अस्पताल प्रयोगशालामा थप १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशाला मार्फत ५ सय ८६ जनाको परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए।
यो सँगै सदूरपश्चिममा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ४१ पुगेको छ। संक्रमण पुष्टि भएका ६ हजार ८ सय ८४ जनाले कोरोना जितेका छन् भने २४ जना संक्रमितको मृत्यु भएको छ ।





प्रतिकृया दिनुहोस्