सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको एकैदिन मृत्यु

धनगढी, असोज १० (ई–रैवार)
सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार बैतडीका एक जना, कैलालीका एक जना र बझाङ जिल्लाका एक जना गरी ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । भारतको बैङ्लोरबाट फर्किएका उनी शनिबार भारतबाट फर्किदै गर्दा पुर्चौडी नगरपालिका वडा नम्बर १ को लामाधारमा मृत भेटिएका हुन ।
स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले मृतक बोहोराको डडेल्धुरा अस्पताल प्रयोगशालामा पीसीआर विधी मार्फत कोरोना परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको बताए । मृतक बोहोराको शव व्यवस्थापन गर्ने तयारी भईरहेको छ।
यस्तै भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका १ का ३० वर्षीय युवकको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले उनीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन । मृतक ती युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए । उनको सोहीदिन राति मृत्यु भएको हो। उनमा मृत्यु पश्चात् शनिवार मात्रै संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
त्यसैगरी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बझाङ घर भइ काठमाडौंमा कार्यररत सैनिक जवानको शुक्रबार मृत्यु भएको जनाएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनीको सघन कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको निर्देशनालयले जनाएको छ । बझाङको छबिसपाथिभेरा–१ घर भएका उनी महेन्द्र दल गण नागार्जुन काठमाडौंमा कार्यरत थिए।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ।





प्रतिकृया दिनुहोस्