सुदूरपश्चिमका ‘कर्णधार’मा कोरोना

सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण पुष्टि भएको छ ।
धनगढी– ‘राष्ट्रिय युवा नीति–२०६६’ले १६ देखि ४० बर्षसम्मको उमेर समुहलाई ‘युवा’ भनि परिभाषित गरेको छ । नीतिमा ‘युवा’ भन्नाले ‘१६–४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रोलिङ्गीहरूलाई जनाउछ’ भनी उल्लेख गरिएको छ ।
यहि उमेर समुहलाई ‘सक्रिय उमेर समुह’ पनि मानिन्छ । यो उमेरसमुहसंग कार्यक्षमता उच्च रहन्छ । जसले समुदाय र देशको अर्थतन्त्र उकास्न ठुलो मद्दत पु-याउछ । यसैकारण युवालाई देशको ‘कर्णधार’ भनेर उपमा पनि दिईने प्रचलन पाईन्छ ।
यतिबेला सुदूरपश्चिमका यिनै कर्णधारहरु कोरोनाभाईरस कोभिड-१९ को संक्रमणको चपेटामा परेका छन् । शनिवारसम्मको संक्रमितहरुको तथ्याङ्कअनुसार करिब ७६ प्रतिशत युवा उमेर समुहका व्यक्तीहरुमा संक्रमण छ ।
तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा शनिवारसम्म दुईहजार एकसय १४ जनामा संक्रमण पुष्टि भएको छ । यद्यपी सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयसंग दुईहजार ७६ जनाको मात्रै तथ्याङ्क छ । ३८ जना संक्रमितको निर्देशनालयले तथ्याङ्क राखेको छैन् । उनीहरु जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं तथा कर्णाली प्रदेश र ५ नम्बर प्रदेशमा गरिएको परीक्षणमा पुष्टि भएका हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलकाअनुसार कुल संक्रमितमध्ये युवा(१६–४०उमेरसमुह)को संख्या एकहजार छ सय चार छ । जसमा २० देखी २९ वर्षउमेर समुहका व्यक्तीहरु बढी संक्रमित छन् । जसको संख्या नौसय ४६ छ । त्यसपछि ३० देखी ३९ वर्षसमुहमा चार सय ६२ जनामा संक्रमण पाईएको छ भने, १६ देखी १९ बर्षका एकसय ९६ जनामा संक्रमण पाईएको छ ।
निर्देशनालयका अनुसार अन्य उमेरसमुहमा नौवर्षमूनीका एकसय ३७ जना, १० वर्षदेखी १५ बर्ष उमेर समुहका ५६ जना, ४० देखि ४९ बर्ष उमेर समुहका एकसय ७१ जना, ५० देखि ५९ बर्ष उमेर समुहका ७८ जना, ६० देखि ६९ बर्ष उमेर समुहका २३ जना र ७० देखि ७९ बर्ष उमेर समुहका सातजनामा संक्रमित देखिएको छ ।
प्रदेशमा सवैभन्दा कम उमेरको जन्मेको चार दिनको शिशुलाई र सवैभन्दा वढी ७६ बर्षको वृद्धलाई कोभिड–१९को संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
आयातित अवस्थाले युवा धेरै
जानकारहरुका अनुसार हाल आयातित संक्रमणको समय चलिरहेको छ । त्यसैले युवाको संख्या धेरै देखिएको हो । ‘आर्थिक कमजोरीको बाध्यता र लहलहैमा लागेर यहाँका युवा किशोर अवस्थामै पढाई छाडेर भारत भाँसिन्छन,’ शिक्षाविद् डा.हेमराज पन्त भन्छन्,‘तीनै अहिले फर्किएका छन् । उनीहरुमै संक्रमण छ । त्यसैले युवाकै संख्या बढी देखिएको हो ।’

अहिलेको संक्रमणको स्रोत भारत रहेको र भित्रिएको धेरै समय नभएकाले युवाहरुमै बढी संक्रमण केन्द्रीत रहेको सेती प्रादेशिक अस्पताल धनगढीका जनरल फिजिसियल डा.निराजनदत्त शर्मा बताउछन् । ‘अहिलेको संक्रमण क्वारेन्टीनभित्रै सीमित छ । जहाँ भारतबाटै संक्रमण ल्याएकाहरुमा संक्रमण देखिएको छ,’ उनि भन्छन्,‘थप भनेको बाटोमा वा क्वारेन्टीनमा संगै रहँदा संक्रमण भएको हो । त्यसैले अहिले युवाको संख्या बढी देखिन्छ ।’
भारतबाट युवाहरु आउदा असावधानी, चेतना अभाव लगायतका कारणले उनीहरुमा संक्रमण बढेको सेती प्रादेशिक अस्पतालको कोरोना विभाग प्रमुख डा. शेरवहादुर कमरले बताए । उनले भने,‘भारतबाट आउदा असावधानी अपनाएको वा चेतनाको अभावले पनि संक्रमण बढीमा भएको हुनसक्छ ।’ भारतबाट सँगै आउदा घुलमिल हुँदैआएको, एउटै गाडी प्रयोग गरेको र एउटै क्वारेन्टीनमा वसेकाहरु पाईएकोले पनि वढी संक्रमण फैलिएको उनको भनाई छ ।
संक्रमण प्रभावहिन
विश्वव्यापी तथ्याङ्क हेर्दा कोभिड–१९ को कुल संक्रमणमध्ये झण्डै पाँचप्रतिशतभन्दा बढीको मृत्यु भएको छ । अत्याधिक संख्यामा संक्रमितहरु गम्भिर अवस्थामा पुगेका देखिन्छन् ।
तर, नेपालमा, मूलतः सुदूरपश्चिम अवस्था ठ्याक्कै विपरित छ । प्रदेशमा कुल संक्रमितको संख्या दुईहजार एकसय नाघ्दा मात्र ६ जनाको मृत्यु भएको छ । अन्य लगभग सबैजसोमा कुनै किसिमको पनि गम्भिर असर देखिएको छैन् ।
‘युवाको भन्दा बालबालिका र वृद्धवृद्धाहरुमा संक्रमण व्यापक फैलिए अवस्था गम्भिर बन्नसक्छ ।’
हालसम्म युवाहरुमै संक्रमण रहेकाले यस्तो अवस्था देखिएको चिकित्सकहरु बताउछन् । ‘युवाको रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसैकारण पनि अहिल्यै धेरै जोखिम नदेखिएको हुनसक्छ,’ सेती प्रादेशिक अस्पताल धनगढीका कोरोना विभाग प्रमुख डा. कमर भन्छन्,‘युवाको भन्दा बालबालिका र वृद्धवृद्धाहरुमा संक्रमण व्यापक फैलिए अवस्था गम्भिर बन्नसक्छ ।’
यसका लागि समुदायस्तरमा संक्रमण फैलन नदिन सबै सचेत हुनुपर्ने जनरल फिजिसियल डा.शर्माले बताए । उनले भने,‘समुदायमा बृद्ध पनि छन्, बालबालिका पनि छन् । दीर्घरोगी पनि छन्, कमजोर मानिस पनि छन्,’ उनले भने,‘त्यसैले समुदायमा संक्रमण पुग्न नदिन सबै सचेत हुुनुपर्छ । यसमा स्वयम संक्रमित र राज्य चनाखो र जिम्मेवार हुनुपर्छ ।’ सरकारले यसका लागि तत्कालै विशेष तयारी र सावधानी अपनाउनुपर्ने उनले बताए ।
(फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट ।)





प्रतिकृया दिनुहोस्