प्रधानमन्त्री बालेनको सम्बोधनले विश्व मञ्चमा नेपालबारे चासो बढायो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको बताएका छन्।

महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्बोधन र नेपाली प्रतिनिधिमण्डलले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको राष्ट्रिय हित, जलवायु संकट र भोटेकोशी बाढीपछिको पुनर्निर्माणको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउन सहयोग पुगेको बताए।

उनका अनुसार महासभाका क्रममा नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकले भोगिरहेको संकटलाई ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गरेको थियो। भोटेकोशी बाढीबाट भएको क्षति र पुनर्निर्माणका लागि विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय निकायसँग आर्थिक तथा प्राविधिक सहयोगका विषयमा छलफल भएको उनले जानकारी दिए।

‘नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम र नागरिकको समृद्धिको आकाङ्क्षालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त भयो,’ खनालले भने, ‘हालै नेपालले भोगेको भोटेकोशी बाढीलाई हामीले ‘हिमालयन सुनामी’का रूपमा प्रस्तुत गर्दै जलवायु न्यायको विषयलाई विश्वमञ्चमा उच्च प्राथमिकताका साथ उठाएका छौँ।’

प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा लस एण्ड ड्यामेज फन्डलगायत जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल बनाउन गरेको आह्वानलाई पनि महत्त्वपूर्ण रूपमा उठाइएको उनले बताए।

खनालका अनुसार नेपालले अब आपत्कालीन राहतमा मात्र सीमित नभई जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरण तथा पुनर्निर्माणका लागि जलवायु वित्त र क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनमा जोड दिएको छ।

महासभाका क्रममा भएका साइडलाइन तथा द्विपक्षीय भेटवार्तामा भोटेकोशी बाढीबाट भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायले चासो र ऐक्यबद्धता व्यक्त गरेको खनालले बताए।

‘भेटघाटको क्रममा भोटेकोशी बाढीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको चासो र नेपालमा परेको दुःखप्रति सबैले ऐक्यबद्धता जनाउनुभएको थियो,’ उनले भने, ‘नेपालमा परेको अप्ठ्यारोमा हामीले कसरी सहयोग गर्न सक्छौँ भनेर औपचारिक र अनौपचारिक भेटवार्तामा प्रश्न र प्रसंगहरू उठेका थिए।’

बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय निकायले चासो देखाएको उनले बताए। खोज, उद्धार तथा राहतमा सहयोग गर्ने छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको आग्रह गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्री शाहको सम्बोधनप्रति अन्तर्राष्ट्रिय समुदायमा उल्लेख्य चासो देखिएको दाबी पनि खनालले गरे। नेपालको पछिल्लो राजनीतिक परिवर्तनपछि बनेका कान्छा प्रधानमन्त्रीले विश्व मञ्चमा देशलाई कसरी प्रस्तुत गर्छन् भन्ने विषयमा अन्तर्राष्ट्रियस्तरमा चासो रहेको उनले बताए।

‘उहाँको सम्बोधनपछि विश्वभरिका समाचारका हेडलाइन उहाँको सम्बोधन बनेका छन्,’ उनले भने, ‘यस वर्ष राष्ट्रसंघको महासभामा सबैभन्दा बढी हेरिएको मन्तव्यको भिडियो पनि सम्माननीय प्रधानमन्त्रीज्यूकै छ।’

खनालका अनुसार भ्रमणका क्रममा नेपालले ग्रेनाडा, नामिबिया र सेनेगलसँग नयाँ कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या १८८ पुगेको उनले बताए।

विभिन्न देशसँग कूटनीतिक तथा सेवा राहदानीवाहकका लागि भिसा छुटसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको उनले जानकारी दिए।

संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढीपीडितका लागि घोषणा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै खनालले अन्य अन्तर्राष्ट्रिय साझेदारबाट पनि पुनर्निर्माणका लागि सकारात्मक चासो प्राप्त भएको बताए।

उनका अनुसार महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा नेपाली प्रतिनिधिमण्डलका उच्चस्तरीय भेटवार्ताले नेपालको राष्ट्रिय हित, जलवायु न्याय र विपद्पछिको पुनर्निर्माणका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा उठाउने आधार तयार गरेको छ।