रसुवाको भोटेकोशी बाढी : ७ शव फेला, तीन जिल्ला संकटग्रस्त घोषणा

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी अहिलेसम्म ७ जनाको मृत्यु भएको छ। बाढीपछि नुवाकोट र धादिङका नदी किनारमा ७ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिएका छन्।
रेग्मीका अनुसार नुवाकोटमा ३ र धादिङमा ४ जनाको शव फेला परेको हो। बाढीमा अझै केही मानिस बेपत्ता भएको सूचना आइरहेकाले खोजी तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
‘अहिलेसम्म ७ वटा शव फेला परेको छ,’ रेग्मीले भने। उनका अनुसार फेला परेका शव संकलन गर्ने तथा बेपत्ताको खोजी गर्ने काम एकसाथ भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट घाइतेको उद्धार पनि जारी छ। गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
रसुवा अस्पतालमा मात्रै बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि पुगेका छन्। अस्पतालका सूचना अधिकारी नरेन्द्र थापाका अनुसार प्रभावित क्षेत्रबाट घाइते आउने क्रम अझै जारी छ।
‘उताबाट केसहरू आउने क्रम जारी छ। अस्पतालले सक्ने जति उपचार गरिरहेको छ र थप उपचार आवश्यक पर्ने बिरामीलाई ट्रान्सफर तथा रेफर गरिरहेका छौँ,’ थापाले भने।
सम्भावित थप घाइतेको चापलाई ध्यानमा राख्दै अस्पतालले उपलब्ध स्वास्थ्यकर्मी तथा स्रोतसाधनलाई परिचालन गरेको छ। जनस्वास्थ्य कार्यालय, स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नेपाली सेना र सशस्त्र प्रहरीसमेत उद्धार तथा उपचार व्यवस्थापनमा खटिएका छन्।
गम्भीर प्रकृतिका बिरामी थप आउन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा राखिएको थापाले बताए। आवश्यक परे बिरामीलाई तत्काल अन्य अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ।
ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता तथा पुरिएका व्यक्तिको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै स्थानीय सर्वसाधारण पनि परिचालन भएका छन्।
खोजी तथा उद्धारका लागि हेलिकप्टर र ड्रोनको समेत प्रयोग भइरहेको छ। सशस्त्र प्रहरीले रसुवागढी भन्सार यार्डसहित बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन गरेको छ।
प्रहरीका अनुसार कुकुरले मानिस रहेको संकेत गरेपछि सो क्षेत्रमा उद्धार टोली परिचालन गरी खोजी गरिनेछ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा थुनिएका र सम्पर्कविहीन नागरिकको अवस्था पत्ता लगाउन ड्रोनबाट समेत निगरानी भइरहेको छ।
रसुवा, नुवाकोट र धादिङ संकटग्रस्त क्षेत्र घोषणा
बाढीको गम्भीर क्षतिलाई ध्यानमा राख्दै सरकारले रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले तीन जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
सरकारले प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने जनाएको छ। मन्त्रिपरिषद्ले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित आवश्यकता पहिचान गर्न र आवश्यक कामका लागि फिल्डमै खटिन निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए।
बाढीका कारण मानवीय क्षति बढ्न सक्ने र थप व्यक्ति बेपत्ता हुन सक्ने भएकाले सुरक्षा निकायले खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।
सरकारले बाढीमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने, प्रभावितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा घर गुमाएकाहरूका लागि खाने र बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने निर्णयसमेत भएको छ। आवश्यक सबै साधन तथा स्रोत परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ।
त्यस्तै, बाढीका कारण अवरुद्ध भएका सडक, विद्युत् र दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्ने तथा प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था मिलाउने निर्णय भएको छ। बाढीमा मृत्यु भएकाहरूका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराइने सरकारले जनाएको छ।
क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन अर्थमन्त्रीलाई समन्वयको जिम्मेवारी दिइएको छ।
सरकारले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने सडक, पुल, विद्युत् र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। सरकारले अब उद्धारसँगै राहत र पुनःस्थापनालाई तीव्र बनाउने जनाएको छ।



प्रतिकृया दिनुहोस्