पूर्वनिर्धारित मितिमै कांग्रेसको १५औँ महाधिवेशन, मंगलबारदेखि अधिवेशन प्रक्रिया सुरु

काठमाडौं : नेपाली कांग्रेसको ९ दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक १५औँ महाधिवेशन पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म गर्ने निष्कर्षसहित सम्पन्न गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सभापति गगन थापाले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उनले महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षलाई समेट्ने गरी अघि बढाउने बताएका हुन्।

सभापति थापाका अनुसार पार्टीका वडा तथा तल्ला तहका अधिवेशनको कार्यतालिकामा भने केही हेरफेर हुनेछ। अधिवेशनका प्रक्रिया मंगलबारदेखि नै सुरु गरिने उनले जानकारी दिए।

यसैक्रममा केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिने भएको छ। प्रेमबहादुर खड्का संयोजक रहेको निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गराउन खटिने निर्वाचन अधिकृतलाई प्रशिक्षण दिन लागेको हो। कांग्रेसले कानुनी पृष्ठभूमि भएका व्यक्तिहरूलाई निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिएको छ।

सभापति थापाले पार्टीभित्रका सबै पक्ष र विचार समूहलाई महाधिवेशनमा सहभागी गराउने प्रयास भइरहेको बताए। उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशन उद्घाटन समारोहमा आमन्त्रण गरिने जानकारी दिए।

‘नेताहरूसँग अझै केही दिन म संवादको प्रयास गर्छु,’ बैठकमा थापाले भनेका थिए, ‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुन्छ। हामी निवर्तमान सभापति शेरबहादुर देउवालाई असोज १६ गते हुने महाधिवेशन उद्घाटन सत्रमा बोलाउँछौँ।’

महाधिवेशनलाई व्यवस्थित बनाउन क्रियाशील सदस्यता छानबिनलगायत विभिन्न समितिमा विशेष महाधिवेशनमा सहभागी नभएका व्यक्तिहरूलाई समेत समावेश गरेर अघि बढ्न सकिने थापाको भनाइ थियो। कांग्रेसमा हाल करिब ८ लाख क्रियाशील सदस्य रहेको बताइएको छ।

अधिवेशन नगराए जिम्मेवारी खोसिने चेतावनी

सभापति थापाले पार्टीको निर्णयअनुसार तोकिएको कार्यतालिका कार्यान्वयन गर्न असहयोग गर्ने जिल्ला तथा क्षेत्रीय तहका नेताको जिम्मेवारी परिवर्तन गर्न सकिने स्पष्ट संकेत गरेका छन्।

साउन २९ देखि ३१ गतेसम्म संस्थापनइतर पक्षले आयोजना गरेको भेलामा ८ जना जिल्ला सभापति तथा केही क्षेत्रीय सभापति सहभागी भएको प्रसंग उल्लेख गर्दै थापाले पार्टीमा भेला आयोजना गर्ने परम्परा रहेको बताए।

उनले आफूले पनि विगतमा विभिन्न भेला गर्दै आएको उल्लेख गर्दै पार्टीको निर्णय र अधिवेशन कार्यतालिका कार्यान्वयन नगर्ने अवस्था भने स्वीकार्य नहुने बताए।

‘भेलाहरूमा सहभागी हुन पाइन्छ, कांग्रेसमा भेला हुनु परम्पराजस्तै हो, मैले पनि कतिपय भेला गरेको थिएँ। तर पार्टीको निर्णयअनुसार तोकिएको कार्यतालिका कार्यान्वयन गर्दिनँ, अधिवेशन गराउन सक्दिनँ भनेर कोही साथीले भन्नुहुन्छ भने त्यहाँ अर्को साथीलाई जिम्मेवारी दिइन्छ, अधिवेशन गराइन्छ,’ उनले भने।

क्रियाशील सदस्यता अद्यावधिकका क्रममा समेत असहयोग गर्ने कतिपय वडाध्यक्ष र क्षेत्रीय सभापतिको जिम्मेवारी कार्यसमितिकै अन्य सदस्यलाई दिएर प्रक्रिया अघि बढाइएको थापाले बैठकमा जानकारी गराएका थिए।

एकताका लागि शीर्ष नेतासँग संवाद

सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा लैजान निरन्तर संवाद गरिरहेको पनि बताएका छन्।

उनका अनुसार निवर्तमान सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग समेत पटक–पटक संवाद भएको छ। उनीहरूले पनि पार्टी एकताको पक्षमा भूमिका खेल्दै आएको थापाले केन्द्रीय समिति बैठकमा जानकारी गराएका थिए।

कांग्रेसभित्र विभिन्न समूहबीचको मतभेद कायमै रहेका बेला सभापति थापाले सबै पक्षलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने रणनीति अघि सारेका छन्। अब तल्लो तहका अधिवेशनको प्रक्रिया सुरु भएसँगै कांग्रेसको १५औँ महाधिवेशनको तयारी थप औपचारिक रूपमा अघि बढ्ने भएको छ।