विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : देउवा

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधि र विधान मिचेर गरिएको विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाएको बताएका छन्।
पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनका नाममा पार्टीको वैधानिक प्रक्रिया मिचिएको दाबी गरेका हुन्।
‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ देउवाले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’
उनले कांग्रेसको इतिहास र योगदानलाई अवमूल्यन गर्ने गरी पार्टीले विगतमा केही गरेन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसको प्रतिवाद गरे। २००७ सालदेखि २०३६, २०४६ हुँदै २०६२/६३ सालसम्मका परिवर्तनकारी आन्दोलनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
‘नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ सालअघिको अवस्था हेर्नुपर्छ,’ देउवाले भने, ‘इतिहासबाट पाठ सिकेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ।’
मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै देउवाले जनतामा बढेको निराशालाई आशामा बदल्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए। संविधानप्रदत्त अधिकारको रक्षा र प्राप्तिका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
देउवाले पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औंल्याउँदै सबै नेता–कार्यकर्तालाई एकजुट हुन आह्वान गरे। ‘सबै साथीहरूलाई न्याय हुने र सबैको भावनाको कदर हुने गरी एकता खोज्न आवश्यक छ,’ उनले भने, ‘जनताको अधिकार र भूमिकाका लागि म जुनसुकै त्याग गर्न तयार छु।’
विशेष महाधिवेशनविरुद्ध एकमत
राष्ट्रिय भेलामा सहभागी अधिकांश नेताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै कांग्रेसलाई विधान र लोकतान्त्रिक मूल्यमान्यताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
पूर्वउपसभापति पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर चुनौतीमा रहेको भन्दै त्यसको सामना गर्न कांग्रेसभित्र पूर्ण एकता आवश्यक रहेको बताए। विशेष महाधिवेशनलगायतका गतिविधिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ थियो।
डा. शेखर कोइरालाले मुलुकको अस्तित्व र राष्ट्रियतामाथि चुनौती उत्पन्न भएको भन्दै वर्तमान परिस्थिति निर्माण हुनुका कारणबारे कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले पार्टीभित्रको विभाजित मानसिकता अन्त्य गरी कांग्रेसले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
पूर्वउपसभापति प्रकाशमान सिंहले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउनुपर्ने बताए। विशेष महाधिवेशन विधिसम्मत नभएको दाबी गर्दै उनले १४ औँ महाधिवेशनको प्रक्रिया टुंग्याएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राखे।
नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको मान्यता र निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतले गल्ती सच्याउने अवसर दिएको बताए। उनले सर्वोच्चबाट कांग्रेसले न्याय पाउने विश्वास व्यक्त गरे।
पूर्वउपसभापति विमलेन्द्र निधिले १५ औँ महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र रहेको दाबी गरे।
नेता विजयकुमार गच्छदारले देउवालाई गुटभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरे। पार्टीको विवाद समाधानका लागि देउवाले पहल गर्नुपर्ने उनको भनाइ थियो।
डा. प्रकाशशरण महतले १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवालाई विस्थापित गर्ने उद्देश्यले विशेष महाधिवेशनको बाटो रोजिएको आरोप लगाए। देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको धारणा थियो।
नेता रमेश लेखकले विशेष महाधिवेशनको माग र त्यसको प्रक्रियाले कांग्रेसमा थप समस्या सिर्जना गरेको बताए। उनले १४ औँ महाधिवेशनको निरन्तरता र १५ औँ महाधिवेशनको तयारीबीच समन्वय आवश्यक रहेको धारणा राखे।
नेता नारायणप्रकाश साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकता पुनर्स्थापित नभएसम्म पार्टी एकता सम्भव नहुने दाबी गरे।
कार्यक्रममा नेता मोहनबहादुर बस्नेतले सभापति गगन थापाको विगतको ५५ वर्षको उमेरमा राजनीतिबाट संन्यास लिने घोषणाको स्मरण गराउँदै त्यसलाई कार्यान्वयन गर्न चुनौती दिए। उनले देउवाको नेतृत्व र रणनीतिका कारण कांग्रेस सबै तहमा बलियो बनेको दाबी गरे।
राष्ट्रिय भेलामा नेताहरूले विशेष महाधिवेशनको विरोधसँगै पार्टीको वैधानिकता, आन्तरिक एकता र लोकतान्त्रिक विधिको पक्षमा एकस्वरमा जोड दिएका छन्। कांग्रेसभित्रको विवाद अब सर्वोच्च अदालतको निर्णयसँगै थप निर्णायक मोडमा पुग्ने देखिएको छ।





प्रतिकृया दिनुहोस्