August 14, 2026, Friday
२०८३ श्रावण २९

देउवाको दाबी : ‘५० वर्षे राजनीतिमा एक रुपैयाँ तलमाथि गरेको छैन, राजा ज्ञानेन्द्रले त सकेनन्’

काठमाडौं : पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पाँच दशक लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको दाबी गर्दै आफूविरुद्ध भइरहेका कानुनी र राजनीतिक दबाबबाट विचलित नहुने बताएका छन्।

हङकङबाट बिहीबार काठमाडौं फर्किएका देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुनदेवीस्थित निवास पुगेपछि नेता–कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध भएका उजुरी, छानबिन र मुद्दाको प्रसंग उठाएका हुन्।

आफूविरुद्ध जति पटक उजुरी र छानबिन भए पनि त्यसबाट केही प्रमाणित नभएको दाबी गर्दै देउवाले अदालत जान आफू नडराउने बताए।

‘अदालतसम्म गएको छ, १० पटकसम्म आउनु भन्छ। १० पटक आयो, केही छैन भन्छ। ११ पटक आयो, २० पटक आयो, केही छैन,’ देउवाले भने, ‘किनभने अहिलेसम्म ५० वर्ष काम गर्‍या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन।’

उनले आफ्नो लामो राजनीतिक यात्रामाथि प्रश्न उठाउने र आफूलाई कानुनी उल्झनमा पार्ने प्रयास भइरहे पनि त्यसबाट आफू नआत्तिने बताए। आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विभिन्न निकायमा उजुरी र छानबिनका प्रसंगसमेत उठाउँदै उनले अदालतप्रति आफ्नो पूर्ण विश्वास रहेको बताए।

‘यो देशको अदालत छ, यो देशको जनता छ। सबैले जानेको छ, बुझेको छ,’ देउवाले भने।

‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् ?’

सम्बोधनका क्रममा देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंग निकाल्दै लोकतन्त्र र गणतन्त्रलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे।

‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ देउवाले प्रश्न गरे।

गणतन्त्र आफूले चाहेर आएको र आफूले चाहेर जाने व्यवस्था नभएको स्पष्ट पार्दै उनले यसको स्थापना जनताले चुनेको संविधानसभाले गरेको बताए।

‘संविधानसभाले ल्याएको हो गणतन्त्र। मैले ल्याएको हो ? मैले चाहेर आउने र मैले चाहेर जाने कुरा होइन,’ उनले भने।

गणतन्त्र र लोकतन्त्रको अन्तिम रक्षक जनता भएको उल्लेख गर्दै देउवाले जनतालाई नै देशको वास्तविक मालिकका रूपमा चित्रित गरे।

‘यो देशको सबैभन्दा ठूलो कुरा हो। यो देशको जनता नेपालको मालिक हो। यो मालिकले जे भन्छ त्यही हुन्छ,’ उनले भने।

‘म भोलि पनि लडिरहन्छु’

देउवाले आफू आगामी दिनमा पनि सक्रिय रूपमा अघि बढ्ने संकेत गर्दै आफूविरुद्ध भइरहेका गतिविधिले आफूलाई कमजोर नबनाउने बताए।

आफूमाथि विभिन्न कोणबाट दबाब सिर्जना गरिए पनि जनता र अदालतले सबै कुरा बुझेको भन्दै उनले समयले नै त्यसको जवाफ दिने बताए।

करिब पाँच महिनापछि स्वदेश फर्किएका देउवा जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएपछि उपचारका लागि विदेश गएका थिए। उनी बिहीबार थाई एयरको विमानमार्फत करिब साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।

विमानस्थलबाट सुरक्षाकर्मीको स्कर्टिङमा चुनदेवीस्थित निवास पुगेका देउवालाई नेता–कार्यकर्ता तथा समर्थकले नाराबाजीसहित स्वागत गरेका थिए।

स्वदेश फर्किएलगत्तै नेता–कार्यकर्तालाई सम्बोधन गरेका देउवा शुक्रबार कांग्रेस संस्थापन इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ।

तीन दिनसम्म चल्ने भनिएको भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजक पक्षले जनाएको छ।

लामो उपचारपछि स्वदेश फर्किएसँगै देउवाले दिएको कडा राजनीतिक अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति संघर्षलाई थप तरंगित बनाउने संकेत गरेको छ।