लिपुलेक, कालापानी कब्जाः भारतीय विस्तारवादको पराकाष्ठा
लोकेन्द्र विष्टभारत जस्तै नेपाल पनि सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । विश्व समुदायको नजरमा नेपाल र भारत सहअस्तित्वमा रहन्छन र रहनु पनि पर्दछ । संयुक्त राष्ट्रसंघ प्रतिको आवद्धताले पञ्चशिलको सिद्धान्त अनुसरण गर्नु पर्ने र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नु पर्ने अन्तर्राष्ट्रिय मान्यता छ । भौगोलिक सिमाना, आर्थिक अवस्था र राजनीतिक प्रभावले न कुनै राष्ट्र सानो वा निर्धन ठहरिन्छ, न ठुलो वा बलबान । हरेक राष्ट्रको स्वतन्त्र अस्तित्व छ र विश्वका सबै शक्ति सम्पन्न राष्ट्रले यो मान्यता अंगिकार गर्नु पर्दछ । भारत नेपालको सबै भन्दा नजिकको छिमेकी राष्ट्र पनि हो । नेपाल र भारतका बिचमा रोटी र बेटीको सम्बन्ध छ, भाइचाराको सम्बन्ध छ । भाषिक, साँस्कृतिक र धार्मिक एककार छ । सँग सँगै श्रमको सम्बन्ध छ भने दुवै देशका बीचमा खुला सिमानाले निर्वाध आवागमन भईरहन्छ । त्यसैले नेपाल र भारत सम्बन्धा बिषयमा अवरोध हुनु पर्ने कुनै कारण छैनन । तथापी कहिले सुस्ता, कहिले सिराहा, कहिले कञ्चनपुरको पुनर्वास क्षेत्र त कहिले कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्रमा अनावश्यक प्रभाव सिर्जना भईरहेका छन । १८७२ को सुगौली सन्धि र त्यस यता सन १९५० को सन्धिपश्चात नेपाल हालको भुगोलमा सिमित रह्यो । सिमा विवाद सम्बन्धमा नेपाल र भारतकाबीचमा कैयौँन पटक अन्य सन्धि सम्झौता भए । नेपाल र भारत सिमाका सम्बन्धमा पटक पटक विवाद देखिए र देखिदैछन भन्ने हेतुले दुवै देशका अधिकारीहरुबीचको आपसी सम्झौता अनुसार प्रवुद्ध समुह(ईपीजी) गठन भयो र उक्त समुहको प्रतिवेदन दुवै देशका सरकार प्रमुखहरु समक्ष पेश भईसकेको अवस्था छ । यही समयमा भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको स्वामित्वमा रहेको कालापानी, लिम्पियाधुरा लिपुलेकलाई आफ्नो नक्सामा गाभी सार्वजनिक गरेको देखियो । यसबाट भारतले नेपाल र नेपालीहरुको अपमान हुने गरी आफ्नो विस्तारवादको नीतिलाई अवलम्बन गरिरहको छताछुल्ल भएको छ । एकातर्फ भारतीय अधिकारीहरु नेपाल प्रति सहानुभुति देखाउछन भने अर्कोतिर दिन प्रतिदिन सिमा मिच्ने, अनि नेपालमा आफ्नो प्रभुत्व कायम राख्न लागी पर्ने गरेका छन । नेपालको राजनीतिक, आर्थिक र शासकीय संरचनामा समेत प्रत्यक्ष भुमिकामा देखिने भारतले कहिले नाकाबन्दीका नाममा दमन गर्ने, कहिले नेपाली सिमा नजिकका आफ्ना नागरिकहरुलाई नेपालमा शान्ति प्रकृयामा नै खलल पुग्ने गरी अशान्ति मच्चाउन आन्दोलन गर्न उक्साउने जस्ता घृणित कामहरु गर्ने गरेको छ । यति मात्रै नभई बर्दीधारी हतियारबाला अर्ध शैन्य बल नेपाली भुभागमा पठाई खुलेआम गुण्डागर्दी गर्न लगाउने कामले भारतको विस्तारवादको प्रपञ्च बेलोबलामा देखिएको भोगिएको छ । यस पटक विश्व समुदायलाई नै चकित पार्ने किसिमले कालापानी, लिपुलेक जस्ता नेपाली भुभाग आफ्नो कब्जामा राखिदिनुले उसको विस्तारवादको पराकाष्ठा नाघेको छ । यही किसिमले प्रभाव जमाउँदै जानेहो भने भोली तराईको पुरै भुभाग अतिक्रमण नहोला भन्न सकिन्न । कमजोर राजनीतिक धरातलमा अडेको नेपालको शासकीय भुमिकामा आफ्नो प्रभुत्व जमाई नेपाल नाम नै नरहने गरी देश कब्जा नगर्ला कसरी भन्ने । तसर्थ भारतको यस प्रकारको शैली प्रति समयमै आवाज बुलन्द गर्नु आवश्यक छ । नेपाल र भारत सहअस्तित्वका दुई स्वतन्त्र मुलुक हुन । यहि कुरालाई मनन गरेर नेपाल सरकारले कुटनीतिक पहल कदमी अगाढी बढाउनु पर्दछ । उसका हरेक गतिविधीमा प्रतिरक्षात्मक ढंगले अगाढी बढ्नु पर्दछ । कुटनीतिक पहलकै आधारमा भारतले जारी गरेको नयाँ नक्सा सुधार गर्न लगाउनु पर्दछ । आम नेपाली जनसमुदायले भारतको यस्ता राष्ट्र हित विपरीतका कदमका विरुद्ध बोल्नु पर्दछ ताकि भारतीय रवैयालाई विश्व समुदाय अगाढी उदांगो पार्न सकियोस । नेपाल सरकार जहिले किन निरीह भएर बस्नु ॽ हुनतः राणा शासनको अन्त्य देखी पञ्चायती व्यवस्था हुँदै बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था अनि हालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम हुँदै गर्दा हरेक प्रणालीमा भारतकै प्रत्यक्ष भुमिका रहेको देखिन्छ । नेपालका हरेक परिवर्तन भारतीय शासकहरुको ईच्छा अनुसार भएका पर्याप्त आधारहरु छन । तसर्थ नेपालको शासन व्यवस्थालाई आफ्नो ईसारामा चल्न वाध्य गराउने देशका लागि सिमा कब्जा सामान्य कुरा हो । भुपरिवेष्ठितता, कमजोर कुटनीति, आर्थिक परनिर्भरता, श्रमबजारको विवशता, खुला सिमाना अनि राजनीतिक अस्थिरता जस्ता नेपालका कैँयौन विवशताले गर्दा शासन प्रणालीमा वाह्य शक्तिको प्रभावहुनु नेपालको बिडम्बना हो । तर अब विस्तारै यी सबै कुराबाट उन्मुक्ती पाउँदै गर्दा समेत किन उही हविगत ॽ पारवहनका लागि अन्तर्राष्ट्रिय सन्धि भएका छन, दुई तिहाईको स्थिर सरकार हामीले पाएका छौँ । विश्व बजारमा नेपालको श्रम विक्री भईरहेको छ । विश्व व्यापार संगठनको हामी सदस्य राष्ट्र हौँ । तै पनि भारतकै अगाढी सदैब झुक्नु पर्ने ॽकिन ॽ तसर्थ भारत र नेपालकाबीचमा भौगोलिक समनिकटताका हिसावले जुन किसिमको मित्रवत व्यवहार भारतले हामीप्रति राख्नु पर्ने हो त्यसरी राख्ने होइन भने अब नेपालले डराउनु पर्ने अवस्था पक्कै छैन । विश्वव्यापीकरणको समय छ, सूचना र प्रविधिको विकासले विश्व समुदाय एक परिवार भईसकेको छ । विपत्ति र प्रकोपका बेलामा मानवीय संवेदना जोकोहीले पनि देखाउने नै भए । दाईले भाई सँग गर्ने व्यवहार अपमान जनक अभद्र भइरहन्छ भने दाईलाई भाईले मात्रै सम्मान गरिहनुपर्ने केही छैन । कानूनको कठघेरामा ल्याई आफ्नो स्वतन्त्रताको अधिकार प्राप्तीका लागि लड्न सक्नु पर्दछ । ठीक त्यसै गरी सानो मुलुक भएर गुम्राहमा पर्ने नभई नेपालले पनि अभद्र व्यवहारलाई अन्तर्राष्ट्रिय कानूनको कठघेरामा उभ्याउन सक्नु पर्दछ । विश्व समुदायको माझमा त्यस प्रकारका गलत प्रवृत्तिलाई छर्लङ्ग देखाउनु पर्दछ । भारतका गलत प्रवृत्तिको चरित्र चित्रण गर्दै सम्भव भए आपसी समझदारीका आधारमा सहमतीमा समस्या समाधान गर्न पहल गर्ने । सम्भव नहुने हो भने अन्तर्राष्ट्रिय कानून अनुसार कारवहीको भागीदार बनाउने र जसरी भए पनि सुगौली सन्धिताको नेपाली भुभागको सिमाको सुरक्षा गर्ने । यसर्थ देशको भुगोलको संरक्षण गर्ने जिम्मेवारी नेपाल सरकारको हो । यस कार्यमा नेपाल सरकारलाई साथ र सहयोगका लागि नेपाली जनता पनि जागरुक हुनै पर्दछ ।





प्रतिकृया दिनुहोस्