March 28, 2026, Saturday
२०८२ चैत्र १४

लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्।

बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन ।

मुख्यमन्त्री शाहले प्रक्रियागत ढंगबाट सबै काम अगाडि बढिरहेको स्पष्ट पार्दै अस्पताल सञ्चालन सम्बन्धी विषयमा अनावश्यक भ्रममा नपर्न सबैलाई आग्रह गरे।

मुख्यमन्त्री शाहले बलिया स्वास्थ्य चौकीबाट स्तरउन्नति भई १५ शैय्याको अस्पताल बनेको लम्कीचुहा नगर अस्पताल हाल ५० शैयाको अस्पतालको रुपमा स्तरोउन्नति भएको बताए । उनले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन र यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। साथै, अस्पतालसँग सम्बन्धित कुनै पनि कर्मचारीको रोजीरोटी नखोसिने कुरा पनि उनले स्पष्ट पारे।

यसैबीच, प्रदेश सरकारले लम्कीचुहा प्रदेशिक अस्पताल विकास समितिको अध्यक्षमा रामबहादुर बिष्ट सहित सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वाँरलाई नियूक्त गरेको छ ।

आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रमको बुदा नं. ८२ मा प्रदेश मातहत रहेका अस्पतालहरुको स्तरोन्नति र क्षमता अभिवृद्धि गरिनुका साथै हाल स्थानिय तहबाट संचालित बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुरा जिल्लाको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्न स्थानिय तहसंग समन्वय र साझेदारी निर्णय गरिएको थियो ।

लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीको अध्यक्षतामा मिति २०८१।०६।१७ गते बसेको लम्कीचुहा अस्पताल विकास समितिको बैठकले लम्कीचुहा मातहत १५ शैयाको रुपमा सञ्चालन गरिएको लम्कीचुहा अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालका रुपमा सञ्चालन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

लम्कीचुहा अस्पताललाई पचास शैयाको प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतिका लागि लम्किचुहा नगरपालिकाको च.नं. १६८१, मिति २०८१।०९।०४ गतेको पत्रबाट सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरेकोमा सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।११।२१ गतेको निर्णयानुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याई सचालनका लागि आवश्यक प्रकृया अगाडि बढाउन नेपाल सरकारलाई पत्राचार गरिएको थियो।

सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८१।११।२१ गतेका निर्णयानुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत हस्तान्तरणका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२।०२।२६ गतेका निर्णयानुसार लम्कीचुहा अस्पताललाई प्रदेश सरकारबाट नै साधन स्रोत व्यवस्थापन हुने गरी १५ शैयाबाट ५० शैयामा स्तरोन्नति सहित सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्नेगरी हस्तान्तरण गर्न स्वीकृति प्रदान भएको थियो ।