फागुन २१ गते हुने चुनावी तयारीको काम ६० प्रतिशत सकियो, उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्नू : प्रधानमन्त्री

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गतका ६० प्रतिशत काम सकिएको बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दा आयोगले सो कुराको जानकारी दिएको हो ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् ।
हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि आयोगले प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेको छ ।
आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताएका छन् ।
बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको उल्लेख गर्दै उनले विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको बताएका हुन् ।
आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको बताउँदै उनले भनेका छन्, ‘हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन ।’
प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीनबुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो ।
जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
हालसम्म १ करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र २ लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।
हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको पनि आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा प्रधानमन्त्री कार्कीले उम्मेदवारको खर्च घटाउने व्यवस्था गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिएको थियो । साथै अब निर्वाचन कार्यक्रम समेत प्रकाशन गर्न लागेको बताएको छ ।
आचारसंहिताको मस्यौदा लगायतका विषयमा राजनीतिक दलहरूसँग पुन: छलफल गर्ने तयारी रहेको समेत आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।
आचारसंहिताको मस्यौदामा प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिने राजनीतिक दल र उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने भएको छ ।
मस्यौदाको बुँदा नम्बर ३७ मा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सोको आधारमा प्रचारप्रसार गर्नु पर्ने हुन्छ ।
निर्वाचन घोषणापत्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नु पर्नेछ ।
बुँदा नम्बर ३७ को ३ मा भनिएको छ, ‘राजनीतिक दल वा निर्वाचित उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ ।’





प्रतिकृया दिनुहोस्