कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला जारी, विशेष महाधिवेशनको हस्ताक्षर ‘भेरिफिकेसन’ गर्न माग

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले दिएको जानकारी अनुसार नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू भेलाभई छलफलमा गरिरहेका छन् ।
केन्द्रीय सदस्य गुरू बरालका अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौं’, केन्द्रीय सदस्य गुरू बरालले भने ।
नेता बरालले भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।
संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।
भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छन् । भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मासहितका केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । विश्वकर्मा पार्टीको प्रचार विभाग प्रमुखसमेत हुन् ।
कांग्रस केन्द्रीय सदस्य नैनसिंह महरले १५औं महाधिवेशनमा कुन तरिकाले जाने, निकास के होला भनेर छलफल गर्न लागिएको बताए ।
केन्द्रीय सदस्य महरले कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छलफल गरिरहेको जानकारी दिए । ‘जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने ? कसैले विशेष महाधिवेशन भन्ने, कसैको नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेका हौँ,’ महरले भने ।
कांग्रेसमा १४औँ महाधिवेशनका ५४ प्रतिशत सदस्यले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । संस्थापन पक्षधर नेताले भने आउँदो वैशाखतिर मात्र महाधिवेशन गर्नुपर्ने र हाल निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।
तर, हस्ताक्षरकर्ताले नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।
नेपाली कांग्रेसमा केन्द्रीय समिति बैठक स्थगित गरेर गुटपिच्छे भेलाहरू भइरहेका छन्। फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि वैशाखमा महाधिवेशन गर्ने भन्नेमा संस्थापन र संस्थापनइतर पक्षबीच मतभेद छ।
साथै अहिले विशेष परिस्थिति रहेको बताउँदै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको प्रक्रिया सुरू गरिहाल्न माग गर्दैछन्।
कुन महाधिवेशन कहिले गर्ने भन्नेमा शीर्ष नेताहरूबीच कुरा मिल्न सकेको छैन। सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा छन्।
उनले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै समयमै महाधिवेशन हुने पनि बताएका थिए।
तर सभापति देउवाले भनेजस्तो समयमा महाधिवेशन हुने तयारी देखिँदैन। महाधिवेशन कार्यतालिका ल्याउने भनेको केन्द्रीय समिति बैठक पटक पटक स्थगित भएको छ।
कार्यवाहक सभापति खड्काले केन्द्रीय समिति बैठक नै रोकेर पदाधिकारी, पूर्वपदाधिकारी तथा नेताहरूसँग ‘वान टू वान’ छलफल गरेका छन् तर अहिलेसम्म निकास निस्केको छैन।
नेता शेखर कोइराला पक्षका युवा विद्यार्थीहरूले आइतबार केन्द्रीय कार्यालय सानेपाको मुख्य गेटमा तालाबन्दी गरेका छन्। कांग्रेस सुधार अभियानअन्तर्गत ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने र नियमित महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने मागसहित कार्यालयको गेटमा ताला लगाइएको नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमालले बताएका छन् ।



प्रतिकृया दिनुहोस्