पटेल र कुमारको अर्धशतकसंगै अमेरिकाले दियो नेपाललाई २६३ रनको लक्ष्य

काठमाडौँ : आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।
अमेरिकाका लागि स्मित पटेल र मिलिन्द कुमारले उत्कृष्ट अर्धशतकीय पारी खेले। विकेटकिपर ब्याट्सम्यान पटेलले १०० बलमा ९ चौकासहित सर्वाधिक ७५ रनको योगदान दिए।
अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरेका मिलिन्द कुमारले अविजित रहँदै मात्र ५० बलमा ६ चौका र २ छक्काको मद्दतले ७० रन जोडे। यस्तै, साईतेजा मुक्कामल्लाले ४२ रन बनाए भने शुबम रन्जनेले १९ र हरमित सिंहले अविजित १६ रन थपे।
नेपालका लागि कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए पनि महँगा साबित भए। उनले १० ओभरमा ५६ रन खर्चिए।
आरिफ शेख, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक-एक विकेट हात पारे। आरिफले ५ ओभरमा मात्र १९ रन दिएर किफायती बलिङ गरे भने करण केसीले १० ओभरमा ५६ रन खर्चिएर कुनै विकेट लिन सकेनन्।
लिग-२ को अंक तालिकामा अमेरिका २८ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल १६ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।
विश्वकप छनोटको यात्रामा रहिरहन नेपाललाई यो खेल जित्नु महत्त्वपूर्ण छ।



                                                        
                                                        
                                                        
                                                        
                                                        
प्रतिकृया दिनुहोस्