March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

यसरी वन्यो वन फँडानी योजनाः योजनाकार अख्तियारको फन्दामा

डोटी साउन २७(ई–रैवार): बर्षौदेखी काठ माफियाको नजरमा पर्दै आएको डोटीको वीपीनगर क्षेत्रमा फेरी व्यापक वन फँडानी भएको छ । त्यहाँ बिगतदेखी नै पटक–पटक वन फडानीको विवाद आउने गरेको छ । यसपटक पनि वीपीनगर क्षेत्रमा ठुलो मात्रामा फँडानी भएको रहस्य खुलेको छ । सव–डिभिजन वन कार्यालय वीपीनगर डोटीका सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार अख्तियारले नगद सहित पक्राउ गरेपछि यो रहस्या खुलेको हो ।
उनलाई गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडा डडेल्धुराबाट नगद सहित अख्तियारको टोलीले समातेको हो । वीपीनगर क्षेत्रमा काटिएको काठको ठेक्का मिलाईदिएबाफत घुस रकम लिएको भन्ने ‘बेनामे’ उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उनलाई खोज्दै त्यहाँ पुगेको थियो ।
प्रहरी नायब उपरिक्षक (डिएसपी)को नेतृत्वमा आएको टोलीले उनको झोलामा नगद ३ लाख २६ हजार रकम फेला पारेको वताएको छ । उजुरीकर्ताले काठको काम मिलाईदिएबाफत ५ लाख ६० हजारमा ‘बार्गेनिङ’ मिलाएर रकम लिएको भन्ने व्यहोरा उल्लेख गरेको अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख शिब कार्की बताउछन् ।
अहिले उनी अख्तियारको नियन्त्रणमै छन् । ‘हामी नियन्त्रणमा लिएर छानविन गरिरहेका छौ,’ अख्तियार महेन्द्रनगर कार्यालयका प्रमुख कार्की भन्छन्,‘सत्यतथ्य बुझेर प्रक्रिया अगाडी बढाउछौ ।’ अख्तियारले घटनाका बिषयमा थप सूचना दिन मानेको छैन् ।
अख्तियारले समातेका सहायक वन अधिकृत डिसी प्रशासनिक काम मात्रै होईन्, वन फँडानीका मुख्य योजनाकार समेत रहेको स्रोत बताउछ । वीपीनगर क्षेत्रमा ठुलो मात्रामा सालको वन छ । सो क्षेत्र काठका तस्करहरुको नजरमा बर्षौ देखी परेको क्षेत्र हो ।
अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा सो क्षेत्रमा काठको कटानी आदेश जारी भएको थिएन् । गत आर्थिक वर्ष २०७५÷०७६ मा कटानी आदेश खोल्नका लागि काठका ठेकेदार तथा उपभोक्ताहरु जोडबलमा जुटेका थिए । उनीहरुलाई राजनीतिक नेतृत्वको पनि सहयोग थियो ।
यसैक्रममा स्रोतका अनुसार सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको राजनीतिक ‘पावर’ प्रयोग गरेर योजनावद्ध रुपमा सहायक वन अधिकृत डिसी गत भदौ–असोजमा सब–डिभिजन वन कार्यालय वीपीनगरको गए । उनी गएपछि काठ काट्ने बातावरण मिलाउन थाले । उनको अभियानलाई राजनीतिक शक्तिले माहोल मिलाउने काम ग¥यो । ‘मुख्यमन्त्री कार्यालय र डिसीको साँठगाँठमै योजना बनेको थियो,’ स्रोत भन्छ,‘यसक्रममा काठ काट्नेदेखी लिएर कुन ठेकेदारलाई बिक्रि गर्नेसम्मको योजना त्यतिबेलै बनेको थियो । धनगढीमा ठेकेदार र डिसी सहितको बैठक बसेको थियो ।’
त्यसपछि कटानी आदेश दिने प्रक्रिया अन्तर्गत प्रारम्भिक प्रक्रिया थालनी भयो । त्यसपछि पदमराज ओझा, भोजराज भट्ट, चक्र घर्ती, लिलाधर जोशी, शेरबहादुर बोहरा लगायतका ठेकेदारहरु अबैध रुपमा रातारात उपभोक्ता समितिहरुसंग सम्झौता गरेर कटानी प्रक्रियामा लगानी गर्नथालेको नाम नखोल्ने शर्तमा स्रोतले वतायो ।
त्यसपछि सहायक वन अधिकृत डिसीले नै प्रक्रिया पु¥याएर सब डिभिजन वन कार्यालय वीपीनगर मातहतका ३२ वटा सामुदायिक वनको काठ कटानी आदेशको सहमतीका लागि डिभिजन वन कार्यालय सिलगढीलाई सिफारिस पठाए ।
सहायक वन अधिकृत डिसी डिभिजन वन कार्यालय सिलगढी डिभिजन प्रमुख सरुवा भएको मौकामा ‘पावर’ प्रयोग गरी निमित्त प्रमूख भएर चैत्र १४ गते डिभिजन वन कार्यालय सिलगढीमा जिम्मेवारी लिएर आए । उनैले आफ्नो सिफारिसलाई सदर गर्दै सबै सामुदायिक वनलाई कटानी आदेश दिए । जसमा डिभिजन वन कार्यालय सिलगढीको तथ्याङ्कका अनुसार ५६ हजार सात सय ६६ क्यूफिट काठ रहेको छ । ३२ मध्ये ५ वटा सामुदायिक वनमा सल्लो, एकमा असना र बाँकी सबैमा सालको काठको कटानी आदेश दिईएको छ ।

सहायक वन अधिकृत सुरेशचन्द्र डिसीले वीपीनगर सब डिभिजन वन कार्यालयबाट कटानी आदेशको गरिएको सिफारिस र डिभिजन वन कार्यालय सिलगढीबाट दिएको कटानी सहमती पत्रहरु ।
पत्रस्रोतः डिभिजन वन कार्यालय सिलगढी

सहायक वन अधिकृत डिसीले १४ चैत्र २०७५ देखी २२ बैशाख २०७६ सम्म निमित्त सम्हाल्दा जिल्लाभरी ५३ वटा सामुदायिक वनमा काठ कटानीको सहमती दिएका छन् । जसमा एक लाख १८ हजार ६ सय तीन क्यूँफिट काठको कटानी सहमती दिईएको छ ।
स्रोतका अनुसार उनले कटानी सहमती प्रदान गर्दा शुरुमै प्रतिक्यूँफिट ७५ रुपैयाँ बार्गेनिङ गरेर लिएका थिए । ‘७५ रुपैयाँ प्रतिक्यूँफिट नदिए कटानी सहमती नै दिएनन्,’ स्रोतले भन्यो,‘सब काम सेटिङमै भएको थियो । सबैले त्यो रकम दिएर सहमती लिएका छन् ।’ स्रोतका अनुसार वीपीनगर क्षेत्रमा १५ वटा सामुदायिक वनमा ठेकदार पदमराज, ६ वटामा भोजराज, ६ वटामा लिलाधर, दुईवटामा चक्र घर्ती र एउटामा शेरबहादुरले कटानीको काम गरेका छन् । जसमा निकासी प्रक्रियामा भोजराजले अरुसंग लगानी फिर्ता मागेर सहभागिता नजनाएको बुझिएको छ ।